फिक्कल । सहारा नेपाल साकोस सेवा केन्द्र फिक्कलले आफ्ना एकजना मृतक सदस्यको ऋण मिनाहा गरिदिएको छ ।
इलामको सूर्योदय नगरपालिका १० मा बसोबास गर्ने दमन्ती राजवंशीको नाममा लगानी रहेको दुई लाख रुपैयाँ ऋण मिनाहा गरिएको हो । ऋण मिनाहासँगै काजकिरिया खर्चवापत ६० हजार रुपैयाँ नगद उनका छोरा रतन राजवंशीलाई प्रदान गरिएको छ ।
सहकारीको सामाजिक उत्तरदायित्व अन्तरगत ऋणि सदस्यको मृत्यु भएमा सबै ऋण मिनाहा गरिदिने सहराको नीति छ । उक्त रकम सहारा नेपाल साकोस सेवा केन्द्र फिक्कलका प्रमुख दिपक ओलीले हस्तान्तरण गरेका हुन् ।
सहारा नेपाल साकोसले सञ्चालन गर्दै आएको लघुवित्त कार्यक्रममा विगत सात वर्षदेखि आवद्ध दमन्ती राजवंशीको यही पुस २० गते मृत्यु भएको थियो । उनी सूर्योदय नगरपालिका १० फिक्कलमा रहेको उदय सहारा महिला समूह, समूह नम्बर ८९ मा आवद्ध थिइन् ।
मृतक दमन्तीले सहारा नेपालबाट यही पुस २ गते २ लाख रुपैयाँ कर्जा चलाएकी थिइन् । कर्जा लिएको अठारौं दिनमा नै राजवंशीको मृत्यु भएको थियो ।
सहारा नेपालले आफ्नो परिवारको ऋण मिनाहा गरेर आमा गुमाएको पीडामा मल्हम लगाई दिएको भन्दै मृतक दमन्तीका छोरा रतनले सहारा नेपालले ऋण मिनाह गरेर आफू र आफ्नो परिवारको दुःखमा सहारा दिएको बताए ।