ताप्लेजुङ । ताप्लेजुङमा यसवर्षको विनियोजित पुँजीगत (विकास) बजेट हालसम्ममा एक तिहाइभन्दा कम मात्र खर्च भएको छ । चालू आर्थिक वर्ष २०७४÷७५ का लागि बिनियोजित चालू (प्रशासनिक) बजेटतर्फ करिव ६० प्रतिशत खर्च भइसक्दा पुँजीगत बजेट भने न्यूनमात्र खर्च भएको हो ।
कोष तथा लेखा नियन्त्रकको कार्यालय ताप्लेजुङका अनुसार विकासका लागि छुटिएको रकममध्ये अहिलेसम्म १८ प्रतिशत मात्र खर्च भएको छ । चालू आवको छ महिना बित्न लाग्दा पुँजीगत भन्दा प्रशासनिकतर्फको खर्च तीन गुणा बढी भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका निमित्त प्रमुुख मातृकाप्रसाद नेपालका अनुसार ताप्लेजुङका लागि बिनियोजित कुल पुँजीगत बजेट ५१ करोड ७० लाख ५५ हजार रुपियाँमध्ये पुसको पहिलो साता सम्ममा नौ करोड ५२ लाख ९१ हजार रुपियाँ अर्थात १७ दशमलव ६४ प्रतिशत मात्र खर्च भएको छ ।
यता चालूतर्फको कुल बजेट तीन अर्व २१ करोड ४८ लाख ३५ हजार रुपियाँ बिनियोजन भएकोमा ५६ दशमलव ७० प्रतिशत अर्थात एक अर्ब ८२ करोड ३३ लाख ५३ हजार रुपियाँ खर्च भइसकेको नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षको छ महिना बित्न लाग्दा प्रशासनिक खर्चको तुलनामा पुँजीगत खर्च एक तिहाइभन्दा कम खर्च भएको छ । भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन लगायत राजनीतिक गतिविधिका कारण पनि विकास खर्चले गति नलिएको हुनसक्ने नेपालको बुझाइ छ ।