Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

तुङ्बा र सुकुटीमा हैन,घोटेको कफीको स्वादमा रमाउनेको भीड

तुङ्बा र सुकुटीमा हैन,घोटेको कफीको स्वादमा रमाउनेको भीड

  • प्रयास लिम्बु
  • शुक्रबार, पौस १४ २०७४


तुङ्बा र सुकुटीमा हैन,घोटेको कफीको स्वादमा रमाउनेको भीड

ताप्लेजुङ । चिसो मौसम सुरु भएसँगै ताप्लेजुङमा घोटेको कफीको स्वादमा रमाउनेको भीड बढेको छ । चिसो मौसममा कफी पिउँदा शरीरलाई न्यानो अनुभूति गराउने र बेग्लै स्वाद हुने भएकाले अहिले घोटेको कफीको स्वादमा रमाउनेको भीड बढ्न थालेको हो ।
सदरमुकाम फुङ्लिङ बजारको कफीहाउस लाइनमा हिजोआज दैनिकजसो कफी पिउनेको भीडभाड हुने गरेको छ । कफीहाउस लाइनको झण्डै दर्जनको सङ्ख्यामा रहेका कफी पसलहरुमा प्रायः बिहानको समयमा घोटेको कफी पिउनेको बढी भीड हुने गरेको छ भने व्यवसायीले राम्रै आम्दानी गर्दै आएका छन् । प्रत्येक शुक्रबार फुङ्लिङ बजार बन्द हुने हुँदा उक्त दिन अझ बढी सेवाग्राहीको भीड हुने कफी व्यवसयीहरु बताउँछन् ।
फुङ्लिङ बजारको पहिचान नै बनिसकेको घोटेको कफी पिउनका लागि स्थानीयबासीको जमघट हुने गरेको छ भने फुङ्लिङ आउने आगन्तुक समेतले कफी पिउने गरेका छन् । अहिलेको चिसो मौसममा मात्र नभई जुनसुकै समयमा कुनै काम विशेष वा ताप्लेजुङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले घोटेको कफीको स्वाद चाखेर फर्कने गरेका छन् ।
यस्तै स्थानीयले आफ्ना पाहुना वा आफन्तहरु आउँदा कफी ख्वाएर स्वागत गर्ने प्रचलन नै बनिसकेको छ । सरकारी कर्मचारी, अन्य निकाय, सर्वसाधारण लगायतले आफ्ना नातेदार साथै साथीभाइहरुलाई घोटेको कफी ख्वाउने गरिएको छ । सुरुमा कफीको स्वाद चाखेर गएका जो कोहीले पछि आउँदा अनिवार्य कफी पिएर मात्रै फर्कने गरेको बताइएको छ । ताप्लेजुङ दोहोर्याएर आएकाहरुले यहाँको कफी पिउनका लागि जसरी भए पनि थोरै समय मिलाउने गरेको पाइएको छ ।


यता घोटेको कफीको बेग्लै स्वाद हुने भएकाले सधैं सेवाग्राहीको आकर्षण हुने बढेको व्यवसायीहरु बताउँछन् । फुङ्लिङ बजारको कफीहाउस लाइनमा कफी व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कल्पना लिम्बूले व्यवसायबाट राम्रै आम्दानी पनि हुँदै आएको बताउनुभयो । जुनसुकै समयमा कफी पिउने सेवाग्रहीहरु आइरहने भएपनि चिसो सिजनमा बढी आउने गरेको लिम्बूले बताउनुभयो ।
हिजोआज चिसो सिजनमा दैनिक एक सय कप (गिलास) को हाराहारीमा कफी बिक्री हुने गरेको लिम्बूको भनाइ छ । उहाँका अनुसार घोटेको कफी प्रतिकप ५० रुपियाँले बिक्री हुने गरेको छ । यस्तै व्यवसाय सञ्चालन गर्नका लागि कफीको धुलो, दूध र चिनी भए पुग्ने गरेको छ । कफी र चिनी पानी मिलाएर घोट्नलाई केही समय लाग्ने बाहेक अन्य कुनै समस्या नरहेको उहाँ बताउनुहुन्छ ।
कफी पसलहरुमा सेवाग्राहीको जति भीड हुन्थ्यो, राज्य पुनःसंरचनासँगै स्थानीय तह कार्यान्वयनमा आएपछि व्यवसायमा केही आँच भने आएको लिम्बूले बताउनुभयो । हाल नगरपालिका र गाउँपालिका बनेर कार्यालयहरु विकेन्द्रित हुँदा सदरमुकाममा मानिसको जमघट पातलो भएको कारण कफी व्यवसाय केही खस्किएको उहाँको बुझाइ छ ।
यस्तै कफीहाउस लाइनकै व्यवसायी सुरेन्द्र पालुङ्वाले अरुबेला भन्दा पनि चिसो सिजनमा कफी पसलहरु बढी चल्ने बताउनुभयो । हालको चिसो सिजनमा कफीहाउस लाइनका प्रायः सबै पसलहरुमा बिहानको समय र विदा तथा पर्वका समयमा कफी पिउनेहरुको भीड नै हुने गरेको पालुङ्वाले बताउनुभयो ।
कफीहाउस लाइनका पसलमा मात्र नभई फुङ्लिङ बजारभित्रका पसलहरुमा पनि हिजोआज कफीको व्यापार राम्रै हुने गरेको छ । हिजोआज दिनदिनै चिसो बढ्दै गएसँगै कफी पसलहरुमा बिहान र बेलुकाको समय सेवाग्राहीको चाप पनि बढ्दै गएको व्यवसायीले बताउने गरेका छन् । यसरी कफी पसल सञ्चालन गर्दै आएका व्यवसायीले व्यवसायबाट हुने आम्दानीबाट घर खर्च धान्न देखि लिएर बालबच्चालाई पढाइ खर्च र केही रकम वचत समेत गर्ने गरेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार