इलाम । शहिद रत्नकुमार बान्तवा र कटक साम्पाङको स्मृतीमा प्रथम रत्न–कटक स्मृती संकाय स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । अखिल क्रान्तिकारी र अनेरास्ववियु महेन्द्ररत्न बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा पौष ९ गतेबाट पहिलो पटक संकाय स्तरिय भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा महेन्द्र रत्न बहुमुखी क्याम्पसका विभिन्न संकायका १० टिमको सहभागीता रहने अखिल क्रान्तिकारी क्याम्पस इन्र्चाज विपिन पोखरेलले जानकारी दिए । २०३५ साल चैत्र २७ गते तत्कालिन पञ्चायती सरकारले नेपाल कम्युनिष्ट पार्टी मालेका संस्थापक सदस्य रत्नकुमार बान्तवालाई इभाङमा गोली हानेर हत्या गरेको थियो । त्यसै गरी अखिल क्रान्तिकारीका तत्कालिन केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष कटक साम्पाङलाई २०५८ साल माघ १ गते तत्कालिन काम्ब्राङ समुहले बाँझाको लारुम्वाबाट नियन्त्रणमा लिएर नेपाली सेनाको जिम्मा लगाएको थियो । त्यसको एक बर्षपछि शान्तिपुरको बिलन्दे जंगलमा उनको हत्या गरिएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । तर नेपाल सरकारले उनलाई वेपताको सुचीमा राखेको छ ।
प्रतियोगितामा अखिल क्रान्तिकारी र अनेरास्ववियुका केन्द्रिय स्तरका नेताहरुको आतिथ्यता रहने भएको छ । प्रतियोगिताको फाइनल पौष ११ गते हुनेछ ।