Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

प्रदेश नं १ को मुख्यमन्त्री बन्ने दौडमा एमालेका चार नेता

प्रदेश नं १ को मुख्यमन्त्री बन्ने दौडमा एमालेका चार नेता

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस २ २०७४


प्रदेश नं १ को मुख्यमन्त्री बन्ने दौडमा एमालेका चार नेता

 

 

इलाम । प्रदेश नम्बर १ मा चार जना नेता मुख्य मन्त्रीको भन्ने दौडमा छन् । भोजपुरका शेरधन राई, सुनसरीका भीम आचार्य, मोरङका जीवन घिमिरे र झापाका हिक्मत कार्कीले प्रदेश नं। १ मा मुख्य मन्त्रीका दाबेदारको रुपमा आएका हुन् ।

प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु पहिला मुख्यतयः एमालेका पोलिटब्यूरो सदस्य राई र सचिव आचार्यको नाम भावी मुख्य मन्त्रीका चर्चामा आएको थियो । तर, प्रदेश नं। १ मा एमाले एक्लैले स्पष्ट बहुमत ल्याइसकेपछि थप दुई जना पनि मुख्यमन्त्रीको आकांक्षी देखिएका छन् । मोरङका जीवन घिमिरे र झापाका हिक्मत कार्की पनि मुख्यमन्त्रीको आकांक्षी देखिएका हुन् । उनीहरु दुवै जना एमालेका केन्द्रीय सदस्य हुन् ।मुख्यमन्त्री बन्ने आ–आफ्नै दाबी 

चुनाव अगावै मुख्य मन्त्रीको चर्चामा रहेका भोजपुरका शेरधन राई राईले भने एक नम्बर प्रदेशलाई पूर्वाधार, सामर्थ्यका हिसाबमा अब्बल प्रदेश निर्माणका लागि आफूले मुख्यमन्त्रीको दाबी गरेको बताउँछन् । ‘मुख्य मन्त्रीको पदबाट मेरो लाभ लिने इच्छा र लोभ छैन । म विकास र समृद्धिका लागि इच्छाशक्ति बलियो भएको मान्छे हुँ’, राई भन्छन्, ‘संघीयता कार्यन्वयनसँगै उपयुक्त समयका लागि मैले मुख्य मन्त्रीको दाबी गरेको हुँ ।’

चार वटा जिल्ला रहेको १ नं। प्रदेशमा भौगोलिक र जातीय स्थितिका कारण समेत आफू मुख्यमन्त्रीको लागि उपयुक्त रहेको उनको दाबी छ । राई भोजपुर ख बाट २० हजार ३ सय ३४ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यता, सुनसरीका आर्चाय भने केन्द्रिय सचिव भए पनि प्रदेशमा चुनाव लडेकाले आफू नै मुख्य मन्त्रीको दाबेदार रहेको बताउँछन् । उनले दाबी गर्छन्, ‘कुनै पनि हिसाबमा म नै मुख्यमन्त्रीको लागि योग्य व्यक्ति हुँ, मेरो विकल्प अरु हुनै सक्दैनन् ।’

 

उनी सुनसरी क्षेत्र नं १ ख बाट २० हजार २ सय ११ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । बिराटनगरका प्रदेशसभा सदस्य जीवन घिमिरेले पनि आफूले अहिलेसम्म राजकीय पद नपाएको र नखोजेका कारण अबको मुख्य मन्त्री आफैं हुने र यसका लागि विकल्प नभएको बताउँछन् । उनी मोरङ क्षेत्र नम्वर ४ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचत भएका थिए । झापाका हिक्मत कार्की पनि आफू मुख्यमन्त्रीको दाबेदारको रुपमा मैदानमा रहेको बताउँछन् ।

उनी भन्छन्, ‘धेरै साथीहरु जस्तै मैले पनि केन्द्रिय तहको राजनितिमा रहेर लामो समयदेखि काम गरेको छु । मसँग पनि उत्तिकै अनुभव छ । म पनि प्रदेश सभा सदस्य भएको नाताले मुख्य मन्त्रीको दावेदारका रुपमा मैदानमा छुु ।’ उनी थप्छन्, ‘जोजो साथीहरुको मुख्यमन्त्रीमा अहिले नाम आएको छ, त्यसलाई छलफलको माध्यमबाट टुंग्याएको खण्डमा भने म पनि सहमत हुने हुनेछु, यदी विवाद लम्बिएको खण्डमा मेरो दावेदारी पनि शीर्ष स्थानमा हुनेछ ।’ उनले झापा ५ क  बाट २४ हजार ९८ मत ल्याए विजयी भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार