काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकमा क्रान्ति, आन्दोलन, संघर्ष तथा जनयुद्ध र सशस्त्र युद्धको युग समाप्त भएको उद्घोष गरेका छन् । नया जनादेशसँगै आन्दोलनको युग नै सकिएको भन्दै उनले अब मुलुक लोकतान्त्रिक बाटोमा अघि बढ्दै सम्वृद्ध राष्ट्र बन्ने उल्लेख गरे ।
काठमाडौ क्षेत्र नम्बर ५ संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले शनिबार गरेको चियापान समारोहमा खनालले गठबन्धनको चुनावी घोषणपत्रमा उल्लेख गरेका नीति कार्यक्रम तथा प्रतिवद्धतालाई कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
मुलुकभरबाट वामगठबन्धनले प्राप्त गरेको विजय कम्युनिष्ट आन्दोलनको विजय भएको भन्दै उनले राष्ट्रियता सुदृढ, सर्वाभौम सत्ता र राष्ट्रिय अखण्डतालाई सुदृढ गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । गठबन्धनमाथि लाग्ने गरेका आरोपको गतिलो जवाफ दिने ढंगले लोकतन्त्र सुदृढ गर्न दृढतापूर्वक लाग्ने विश्वास पनि उनले व्यक्त गरे । चियापान कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायत वामगठबन्धनमा नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।