- प्रयास लिम्बू
ताप्लेजुङ, । ताप्लेजुङमा प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवार रहनुभएका २३ मध्ये १७ जनाको जमानत (धरौटी) जफत भएको छ । निर्वाचनमा बिजयी उम्मेदवार र निकटतम् प्रतिद्वन्द्वी बाहेक अन्य सबैजनाको जनामत जफत भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचित एक र निकटतम् प्रतिद्वन्द्वी एक तथा प्रदेशसभातर्फ विजयी र निकटतम् प्रतिद्वन्द्वी गरी चारजना समेत छ जनाको मात्र जमानत रकम जोगिएको छ ।
एक स्थान रहेको प्रतिनिधिसभा सदस्यमा आठ तथा प्रदेशसभा सदस्यको १ (क) मा सात र (ख) मा आठ गरी जम्मा २३ जना उम्मेदवार प्रतिश्पर्धामा रहेका थिए । प्रतिनिधिसभाका उम्मेदवारले उम्मेदवारी दर्ता शुल्कबापत जनही १० हजार तथा प्रदेशसभाका उम्मेदवारले जनही पाँच हजार रुपियाँका दरले जमानत (धरौटी) राख्नुपर्ने व्यवस्था थियो । जमानत जोगिनेले मात्र रकम फिर्ता पाउने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृत कार्कीका अनुसार जमानत जोगाउन नसकेका उम्मेदवारको धरौटी बापतको रकम नेपाल सरकारको राजश्व खातामा जम्मा हुने छ । प्रतिनिधिसभामा कुल सदर मत ४९ हजार ३४५ को ५९ दशमलब ७४ प्रतिशत मत ल्याएर बिजयी एमालेका योगेशकुमार भट्टराई र ३४ दशमलब २२ प्रतिशत ल्याएर निकटतम् प्रतिद्वन्द्वी रहेका काँग्रेसका केशबप्रसाद दाहालको जमानत जोगिएको छ ।
जमानत रकम गुमाउनेमा प्रतिनिधिसभा तर्फका उम्मेदवारहरु मंगोल नेस्नल अर्गनाइजेसनका छबिन्द्र गुरुङ (०.०८), एकीकृत राप्रपा (राष्ट्रवादी) का डिल्लीराम बिष्ट (०.४८), राष्ट्रिय जनमुक्ति पार्टीका आइत माबो (०.६५), सङ्घीय समाजवादी फोरम नेपालका धनकुमार साम्यू (०.८०) र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णुकुमार याक्सो (३.२२) प्रतिशत रहेका छन ।
यस्तै प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं. (क) मा कुल सदर मत २७ हजार ८८३ को ५५ दशमलब २९ प्रतिशत ल्याएर बिजयी भएका एमालेका बलबहादुर साम्सोहाङ र ३९ दशमलब ३५ प्रतिशत ल्याएर निकटतम् प्रतिद्वन्द्वी रहेकी काँग्रेसका लीलादेवी बोखिम बाहेक अरु सबैको जमानत रकम जफत भएको छ ।
प्रदेशसभा (क) मा जमानत रकम जफत हुने उम्मेदवारहरुमा एकीकृत राप्रपा (राष्ट्रवादी) का गायत्रीप्रसाद थेबे (०.३०), राष्ट्रिय जनमुक्ति पार्टीका बलबहादुर किराँत (०.४३), सङ्घीय समाजवादी फोरमका झक्तबहादुर येङ्देन (०.५६), नयाँ शक्ति पार्टीका मनबहादुर गुरुङ (०.९५) र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउबहादुर खुदाङ (३.०८) प्रतिशत रहेका छन ।
प्रदेशसभा (ख) तर्फ २१ हजार ४९१ सदर मतमध्ये ५६ दशमलब ७५ प्रतिशत ल्याएर बिजयी माओवादी केन्द्रका टङ्क आङ्बुहाङ र ३५ दशमलब ३० प्रतिशत ल्याएर निकटतम् प्रतिद्वन्द्वी बनेका काँग्रेसका दीपेन्द्रकुमार सेन्दाङको मात्र धरौटी जोगिएको छ ।
एकीकृत राप्रपा (राष्ट्रवादी) की सपना सामेखाम (०.३८), नयाँ शक्ति पार्टीका बिशाल लिम्बू (०.४९) राष्ट्रिय जनमुक्ति पार्टीका यामकुमार आङ्बुहाङ (१.०३), सङ्घीय समाजवादी फोरमका सुखबीर लिम्बू (१.१०), जन समाजवादी पार्टीका कृष्णबहादुर लिम्बू (१.६७) र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लाबुङ लिम्बूले (३.२३) प्रतिशत मात्र मत ल्याएका कारण जमानत रकम जफत भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जमानत (धरौटी) जोगाउनलाई कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्दथ्यो ।