काठमाण्डौ । प्रधानमन्त्री शेरवहादुर देउवाले आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार नेकपा (माओवादीका केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग शनिबार बिहान प्रम निवास बालुवाटारमा भएको भेटमा उनले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
प्रधानमन्त्री देउवाले वाम गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यनिर्वाचनमा प्राप्त गरेको सफलताका लागि अध्यक्ष दाहाललाई बधाई दिएका थिए ।
सो भेटमा अध्यक्ष दाहालले तीन प्रमुख दलको सहमतिमा मात्र राजनीतिक र संवैधानिक नियुक्ति गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।
अध्यक्ष दाहालका प्रेस सहयोगी मनहरि तिमल्सिनाका अनुसार दाहालले प्रधानमन्त्री देउवालाई प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा संवैधानिक, राजनीतिक र प्रदेशका गभर्नर लगायतका नियुक्ति नगर्न ध्यानाकर्षण गराएका थिए ।
अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनका विषयमा प्रमुख दलकाबीच छलफलका माध्यमबाट निष्कर्ष निकाल्न सकिने भन्दै त्यसका लागि पहल गर्न प्रम देउवालाई आग्रह गरेका थिए ।