इलाम । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको जन्म इलामको साविक साँखेजुङ ४ मा २००६ साल चैत ६ गते भएको हो । पिता पुङ्कनाथ र माता मधुमाता खनालका १३ सन्तान मध्ये झलनाथ खनाल सातौँ सन्तान हुन् । १५ वर्षकै किशोर अवस्थामा कम्युनिष्ट आन्दोलनमा होमिएका खनालको राजनैतिक जीवन २०२१ साल देखि शुरू भएको थियो । मेची विद्यार्थी संगठनको अध्यक्षबाट राजनैतिक यात्रा गरेका खनाल २०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्तपछि नेपाली राजनीतिमा झनै सक्रिय हुनुभएको थियो । राजनीति आन्दोलनकै क्रममा शिक्षण पेशामा संलग्न भएपनि खनालले पटक पटक गरि ७ वर्ष जेल जिवन बिताउनुपरेको थियो ।
झापा विद्रोहपछि २०३१ सालमा गठित क्रान्तिकारीहरूको संगठन’ को ओर्डिनेशन कमिटि, नेपाल कम्युनिस्ट पार्टी मालेको सस्थापक सदस्य रहेका खनल सोही पार्टीको महासचिव समेत हुनुभएको थियो । २०३७ सालपछि भुमिगत हनुभएका खनाल ११ वर्षपछि २०४६ सालको जनआन्दोलनपछि खुलामञ्चबाट सार्वजनिक हुनुभएको थियो । खनाल त्यसपछि बनेका सरकारमा कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरण, सुचना तथा संचार मन्त्री हुनुभएको थियो ।
२०४६ पछिका निर्वाचनमा इलाम क्षेत्र नम्बर एकबाट पटक पटक निर्वाचित खनाल २०५६ सालको संसदिय निर्वाचन भने नेपाली काग्रेसका बेनुप प्रसाईसँग पराजीत हुनुभएको थियो ।
२०६५ मा भएको बुटवलको आठौ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित खनाल एकिकृत नेकपा माओवादी केन्द्रको समर्थनमा २०६७ साल माघ २३ गते देशको ३५ औँ प्रधानमन्त्री हुनुभएको थियो । २०७१ सालको नवौ महाधिवेशनबाट पार्टीका वरिष्ठ नेता हुनुभएका नेता २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको तर्फबाट उमेद्धवार बन्नु भएका खनालले ३६८०७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलको १९६३७ मत प्राप्त गरे।