इलाम। इलाममा निर्वाचन विरोधी गतिविधीको आरोपमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ । प्रहरी मंगलबार निर्वाचन विरोधी गतिविधीको आरोपमा सृर्योदय नगरपालिका– १ गोर्खेबाट १२ जनालाई पक्राउ गरे संगै सो संख्या २५ पुगेको हो ।
गत कार्तिक २६ गतेदेखी मंसिर १६ गतेसम्ममा १३ जना पक्राउ परेका थिए ।
मंगलबार पक्राउ पर्नेमा भूपू नेपाली सेना चितवनका ५१ बर्षिय बसन्तबहादुर बराल, चितवनकै ४९ बर्षिय मुक्तिनाथ अधिकारी, तनहुँका २८ बर्षिय रामु सुबेदी, गोर्खाका अग्नि उपरकुटी, गुल्मीका २० बर्षिय तेजेन्द्र जिसि, गुल्मीकै १७ बर्षिया कोपिला थापा रहेका छन ।
त्यसै गरी पक्राउ पर्ने अन्यमा काठमाडौंका ४१ बर्षिय कृष्ण थापा, काठमाडौकै ३२ बर्षिया मिना केसी, तेह«थुमका २९ बर्षिय कृष्णप्रसाद अधिकारी, संखुवासभाका २९ बर्षिय अर्जुनकुमार गौतम, संखुवासभाकै रमेश गौतम र रुपन्देहीका २० बर्षिया माया पुलामी रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट गौरब युवा एकता पिडित उद्धार सेवा समाज र नाइट युवा समाजको पर्चा र रसिद, ३ थान नागरिकता, ४ थान मतदाता परिचयपत्र र नेपाली ४ हजार ४ सय तथा भारतीय २ हजार पाँचसय ७० रुपैंयाँ बरामद गरेको छ ।
गोर्खे प्रहरी चौकीबाट खटेर गएको प्रहरीको टोलीले गोर्खे स्थित सिंहदेवी मतदान केन्द्र आसपासका स्थानियबासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा उनी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी विपिनकुमार कर्मचार्यले जानकारी दिए । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको कर्मचार्यले जानकारी दिएका छन ।
आउँदो बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि इलाम प्रहरीले सुरक्षा सतर्कतालाई कडा बनाउँदै लगेको छ ।