- प्रयास लिम्बू
ताप्लेजुङ, । किराँत लिम्बूहरुको महान पर्व चासोक तङ्नाम अर्थात ‘न्वागी पर्व’ को अवसरमा किराँत लिम्बू संस्कार संस्कृति संरक्षण समिति ताप्लेजुङले आइतबार विविध कार्यक्रम सम्पन्न गरेको छ । समितिको अगुवाइमा आफ्नो भेषभूषामा उपस्थित भएर किराँत लिम्बू समुदायले फुङ्लिङ बजारमा नगर परिक्रमा गरेका छन् । नगर परिक्रमापछि किराँतीहरुको ¥याली मुख्य कार्यक्रम स्थल भानुजन माविको खेल मैदानमा पुगेको थियो ।
उक्त मुख्य कार्यक्रमस्थल भानु माविको खेल मैदानमा कञ्चनजंघा फुङ्लिङ क्लबले तीन दिन अघि अर्थात मंसिर १५ गतेबाट बिभिन्न खेलकुद, लिम्बू जातीय फेसन, साँस्कृतिक कार्यक्रम र बिभिन्न जाति÷जनजातिका झाँकी प्रर्दशनीको आयोजना गरेको थियो । प्रतियोगितात्मक लिम्बू संस्कृतिमा आधारित धान नाच (याःलाङ), च्याब्रुङ नाच (केःलाङ) साँस्कृतिक विधा तथा खेलकुद प्रतियोगिताका बिजेतालाई पुरस्कार तथा सम्मानपत्र बितरण गरिएको कञ्चनजंघा फुङ्लिङ क्लबका अध्यक्ष चन्द्र थेबेले जानकारी दिए ।
यता चासोक तङ्नामको अवसरमा परम्परागत रोटे पिङलाई यसवर्ष पनि सञ्चालनमा ल्याएको छ । लोप हुन लागेको संस्कृतिलाई पुनःजागरण गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको रोटे पिङलाई निरन्तरता दिएको समेत कञ्चननजंघा फुङलिङ क्लबले जनाएको छ ।
किराँत लिम्बू संस्कार संस्कृति संरक्षण समितिका ज्ञानु फुरुम्बो लिम्बूले मौलिक परम्पराको संरक्षण अभियानमा सबैको सद्भाव र सहयोग रहनुपर्ने बताउनुभयो । किराँत याक्थुङ चुम्लुङका अध्यक्ष भद्र बोखिमले चासोक तङनामलाई लिम्बू समुदायको मौलिक परम्परा वा पर्वको रुपमा रहेकाले आफ्नो पहिचानको संरक्षणमा जुट्न जरुर रहेको बताए ।
यसैगरी भानुजन माविको प्राङ्गणमा तीन दिन अघिदेखि नै धान नाँच र च्याब्रुङसहित सांगीतिक साँझको आयोजना गरिँदै आएको थियो भने लिम्बू संस्कृतिमा आधारित विभिन्न खाना परिकार बनाई प्रदर्शन तथा विक्री वितरण समेत गरिएको आयोजक संस्थाका सदस्य राजेन मादेन (राजा) ले जानकारी दिए ।
विशेषगरी लिम्बू, राई, सुनुवार र याक्खा जातिले मङ्सिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ । प्रत्येक वर्ष मङ्सर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दूहरुले धान्य पूर्णिमा, किराँत याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्बूले चासोक र राईले उधौली पर्वका रुपमा मनाउने गर्छन् ।