नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको जन्म इलाम जिल्लाको साविक साँखेजुङ गाविस ४ को पण्डित गाउँमा २००६ साल चैत ६ गते भएको हो । पिता पुङ्कनाथ र माता मधुमाता खनालका १३ सन्तान मध्ये सातौँ सन्तानका रूपमा जन्मिएका खनाललाई बाल्यकालमा घर परिवारले जन्तरे’ भनेर चिनिन्थे । १५ वर्षकै किशोर अवस्थामा कम्युनिष्ट आन्दोलन प्रति आकर्षित भएर राजनितिमा होमिएका खनालको राजनैतिक जीवन २०२१ साल देखि शुरू भएको थियो । मेची विद्यार्थी संगठनको अध्यक्षबाट राजनैतिक यात्रा गरेका देशको ३५ औँ प्रधानमन्त्री समेत भएका खनाल २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष बन्न सफल भएका थिए ।
२०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्तपछि राजनीतिमा झनै सक्रिय हुँदाहुँदै विज्ञान विषयमा स्नातकको अध्ययन पूरा गरेपछि खनालले पश्चिम नेपालको बागलुङ जिल्लाको गलकोट माध्यमिक विद्यालयमा विक्रम संम्बत २०२७ र २८ सालमा विज्ञान शिक्षकको काम गरेका थिए । राष्टिूय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँगै अध्यापन गरिरहँदा खनाल राजद्रोहको आरोपमा केही महिना जेल बसेसँगै धौलागिरी अञ्चाधीशबाट निलम्बन परे । त्यसपछि इलामको भानुभक्त माध्यमिक विद्यालय मङ्गलबारे पुगे पनि राजनैतिक संलग्नताको अभियोगमा पक्राउ परि उनी जेल परेका थिए ।
शिक्षण पेशा छोडेपछि उनी २०३० सालमा तीन सार्वजनिक सुरक्षा ऐन अन्तर्गत चौध महिना, राजा बीरेन्द्रको राज्याभिषेकको समयमा पनि ६ महिना र त्यसपछि पटक पटक गरि ७ वर्ष जेल जिवन खनालले बिताएका छन् । झापा विद्रोहपछि उनी २०३१ सालमा गठित क्रान्तिकारीहरूको संगठन’ को ओर्डिनेशन कमिटिको संस्थापक सदस्य हुँदै २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी मालेको सस्थापक सदस्य भएका खनाल चार वर्षपछि ६ वर्षसम्म महासचिव भएर पार्टी हाँकेका थिए ।
२०३९ सालदेखि २०४६ सालसम्म नेकपा मालेको महासचिव भएका खनालले २०३७ सालदेखिको करिब ११ वर्षको भूमिगत जीवन २०४६ सालको जनआन्दोलनको सफलता सँगै खुलामञ्चबाट जे.एन. खनालको नाममा सार्वजनिक भए । २०४६ सालको जनआन्दोलन पछि गठित अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरण मन्त्री भएका खनाल । २०४८ सालको संसदीय निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट लगातार निर्वाचित हुँदै आएका छन् । २०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा इलाम क्षेत्र नम्बर एकबाटै निर्वाचित खनाल ०५३ सालको गठवन्धन सरकारमा सूचना तथा सञ्चार मन्त्री भएका थिए । २०५४ को छौटौ महाधिवेशनबाट स्थायी समिति र केन्द्रीय सदस्य निर्वाचित भएका खनाल २०५६ को संसदिय चुनावमा नेपाली काग्रेंसका बेनुप प्रसाइसँग पराजीत भएका थिए भने २०६४ र २०७० को संविधानसभाको दूई वटै चुनावमा बिजयी भएका थिए । २०६५ साल फागुन बुटवलमा भएको नेकपा एमालेको आठौ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित खनाल तत्कालित एकिकृत नेकपा माओवादी केन्द्रको समर्थनमा २०६७ साल माघ २३ गते देशको ३५ औँ प्रधानमन्त्री भएका थिए । नेपाली राजनीतिमा प्रष्टवक्ता वामपन्थी चेतनाका धनी व्यक्तित्व अनि चतुर राजनीतिज्ञका रूपमा परिचित खनाल २०७१ साल असार काठमाण्डौ मा भएको नवौ महाधिवेशनबाट अध्यक्ष पद केपी ओली लाई हस्तान्तरण गरि पार्टीका वरिष्ठ नेता भएका छन् । उनै नेता खनाल संविधानसभाबाट बनेको संविधान कार्यान्वयनको चरणमा भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नम्बर एक बाटै उमेद्धवार भएका छन् । खनालसँग सुजन तिमसिनाले गरेको संक्षिप्त कुराकानी:
संविधान कार्यान्वयनको चरणमा छ । स्थानिय तहको निर्वाचनपछि प्रतिनिधी तथा प्रदेशसभाको चुनाव दौरान क्षेत्र नं १ को उम्मेदवारको रुपमा जनताको घरमा पुग्दा जनमतलाई कस्तो पाउँनुभयो ?
इलाम सिङगै जिल्ला लामो समय देखी बामपन्थीको वर्चस्व भएको जिल्ला हो । नेकपा एमालेले धेरै पटक चुनाव जितिसकेको छ । एमाले लोकप्रिय पार्टीको रुपमा यस क्षेत्रमा छ । क्षेत्र नं १ को कुरा गर्दा हरेक गाँउ, टोल, बस्तीमा पुगेको छु । जनताको माग झलनाथ खनालको माग छ । त्यही मागलाई ध्यानमा राखेर पार्टीले मलाई उम्मेदवारी दिएको हो । त्यसमा हामी २ ठुला पार्टी एकतावद्ध भएर लागेका छौ त्यसले गर्दा मैले मेरो क्षेत्रमा प्रतिद्धन्द्धी नै देखेको छैन । यस क्षेत्रमा प्रतिस्पर्धा नै छैन जता गएपनि एमाले देखी रहेको छु । एउटा व्यक्ति, परिवार आउनुको साटो सिङगो गाउ नै पल्टिएर एमालेमा प्रवेश गर्ने प्रवृती व्यापक रुपले बढेको छ । यहाँको जनमत बामपन्थीको पक्षमा छ । तिव्र विकासको पक्षमा छ देशभक्तिको पक्षमा छ । त्यसैले १० हजारभन्दा बढी मतान्तरले चुुनाव जित्छु ।
छैटो पटक चुनाव लडदा ५ पटक बिजय हुनुभयो फेरी पनि उम्मेदवारको रुपमा चुनावी मैदानमा हुनुहुन्छ । यहाँका मतदाताले धेरै पटक झलनाथलाई भोट दिएर जितायौ फेरी पनि भोट किन दिने भनेर प्रश्न गरे भने त्यसलाई कसरी चिर्नुहुन्छ ?
यो बिषयमा निर्णय गर्ने हक मतदाताहरुकै हो । किन भने जनताको निर्णय सर्वोपरी कुरा हो । छैटौ पटक चुनाव लडिरहँदा झलनाथ खनाल नै चाहिन्छ, नेकपा एमाले चाहिन्छ, बामपन्थी चाहिन्छ उनीहरुले मात्र विकासको लहर ल्याउन सक्छ भन्ने आम जनताको धारणालाई साकार गरेका छौ । जस्तै मेची राजमार्ग ल्यायौ त्यसमा मेरो भुमिका रहयो । गाउगाउमा व्यापक रुपले विद्युतीकरण भइरहेको छ । गाउ झिलिमिली हुँदै गइरहेको छ । इलाम जिल्लामा सयौ खानेपानी योजना ल्याएका छौ । ५१ वटा त पक्की पुल मात्रै हालिसक्यौ इलाम जिल्लामा । यस्ता विकास निर्माणमा लागेकाले यहाँका जनताले माया गर्नुभएको छ । यस पटक पनि जहाँ जान्छु माया गर्नुहुन्छ जहा जान्छु माया गर्नुहुन्छ । जित त पक्कापक्की हैन १०० % जस्तो देख्छु । संभवत म यहाँ लडिरहुन्जेल प्रतिद्धन्द्धीको खैरियत छैन ।
यसअघि पनि विकासका एजेन्डा लिएर धेरै विकास गरेको छु भन्नुभयो । अव ५ बर्षमा यस क्षेत्रमा के कस्ता विकासका संरचना बन्छन् त ?
अव ५ बर्षमा नयाँ संविधानले जुन संरचना ल्यायो सवै नगरपालिका र गाउपालिकामा प्रत्येक वार्ड गाउसम्म पुग्ने बाटो बनाउछौ । ति बाटो अहिले नै पिच गर्न सक्दैनौ । हामी जनतालाई काही पनि ढाटी रहेका छैनौ । जनताको माग पिच गरिदिनु भन्ने नै छ तर अहिले स्तरोन्नती गरेर बाहै महिना सवारी चल्न सक्ने बनाउने त्यसमा केन्द्रित हुन्छौ । र आगामी ५ बर्षमा बाहै महिना चल्न सक्ने बनाउछौ । त्यसमा ठुलो बाटो शनिश्चरे हुँदै इलाम जाने बाटोको डिपीआर भइसेको छ यो पिच गराउने बाटो हो जसलाई ५ बर्षमा पिच गराउँछौ ।
इलाम सदरमुकामबाट सन्दकपुर इलामको सवैभन्दा अग्लो शिरसम्म पुग्ने बाटोलाई पनि पिच गराउछौ । अरु कतिपय बाटाहरु मुख्य र शाखा छन त्यसलाई सवै समय चल्न सक्ने बनाउँछौ भने कतिपयलाई स्तरोन्नती गराउदै लान्छौ यो पहिलो कुरा भयो । दोश्रो कुरा इलाम जिल्ला व्यापी विद्युतीकरण गर्दै सम्पुर्ण गाँउमा विद्युत पुर्याउने योजना छ । इलाम जिल्लामा थुप्रै जलविद्युत योजना विकसित भइसकेका छन कतिपय विकासका क्रममा छन । माइ नगरपालिकामा मात्रै पनि सानिमा हाइड्रोले ठुलो जलविद्युत योजना विकास गरेको छ । जुन हामीलाई बालेर उभ्रिन्छ त्यो देशलाई दिन्छौ ।
इलाम जिल्लामा ठुलो योजना भइसकेपछि जनता अब अन्धकारमा बस्न चाहदैनन् । ५ बर्षमा क्रमश सवैलाई उज्यालो दिन्छौ त्यसै गरी सवै क्षेत्रमा खानेपानीका योजनाहरु बनाउने छौ । सवै जनताले स्वच्छ खानेपानी पाउनुपर्छ यो उहाँहरुको मौलिक हक हो । यो कुरामा हामी प्रयत्न गर्छौ । शिक्षा क्षेत्रमा सिंगो जिल्ला भित्र हेर्दा कलेजहरु धेरै छन । + २ धेरै संख्यामा विकास गर्यौ । नयाँ उत्पादित जनशक्तिलाई विश्वविद्यालयसम्म अध्ययन कसरी गराउने त्यसको लागी शैक्षिक संस्थाको विकास गर्नुपर्छ भन्ने सोची रहेका छौ । पर्यटनको क्षेत्रमा इलाम पर्यटकिय क्षेत्र हो ।
चुरे पर्वत श्रृङखलालाई पार गरेर जाने पहिला पेरुङगो बाटो थियो धारे भएर हिडनुपर्थ्यो । म पनि पहिला त्यसै गरेर हिडने गर्थे । अहिले राजमार्ग खुलेको छ तर पनि ज्यामद्धार नै भनिन्छ । ज्यामद्धार देखी लिएर अन्तुडाँडा छ जहाँबाट यति राम्रो सुर्योदय देखिन्छ जसलाई सचित्र वर्णन गर्नै गाह्रो छ । सन्दकपुर जहाँबाट संसारकै चम्किलो कञ्चनजंघा अंगालो मारु झै देखिन्छ । यस्ता राम्रा डाँडा छन । सदरमुकाम नजिकै माइपोखरी छ । इलाम बजार त्यसै राम्रो छ । इलाममा धेरै पर्यटकिय क्षेत्रको संभावना छ जसलाई हामीले विकास गर्नुपर्छ । अन्तु र सन्दकपुरमा केबलकार दौडाउन सक्छौ । जसको हामी परिकल्पना गर्दै छौ । यसरी हमी विकासको नयाँ धरातलमा उठाउने सपना बुनिरहेका छौ ।
कृषिको क्षेत्रमा कुरा गर्दा इलामको कृषि क्षेत्रलाई कसरी विकास गर्नुहुन्छ ?
कृषिमा इलाम उदाहरणीय जिल्लाको रुपमा मान्नुपर्छ । यहाको ५ अ अलैची, अदुवा, ओलन, आलु, अकबरे लगायतका कुराहरु स्तरिय विकास भइरहेका छन । तर तिनीहरुले स्थिर मुल्य पाउन सकेका छैनन् । स्थिर बजार छैन राज्यले खेल्नुपर्ने भुमिका प्रभावकारी हुन सकेको छैन जसलाई अघि बढाउने पक्षमा रहेको छु । अलैची नै पोहोर साल १ लाख २० हजार मनमा विक्री भयो अलैचीको यत्रो बजार रहेछ । यस बर्ष २० हजारमा झर्यो । यस्तै अस्थिरताले इलामको अर्थतन्त्रमा नराम्रो असर पारेको छ ।
यो अस्थिरता रोक्न केन्द्रिय सरकारको तर्फबाट जुन खेल्नु भुमिकाको लागी मेरो प्रयत्न हुनेछ । त्यसैगरी किवी नयाँ फलको रुपमा फैलिरहेको छ । अहिले इलामलाई किबी जोनको रुपमा सरकारले घोषणा गरेको छ । त्यसको विकास गर्दै किसानको आर्थिक समृद्धीको निम्ती पहल गरिरहेको छु । किवीलाई प्रशोधन गर्ने, स्थिर बजार खोज्ने जस्ता बिषयमा मेरो प्राथमिक्ता हुनेछ । इलाम दुग्ध क्षेत्रमा समेत राम्रो संभावना बोकेको जिल्ला हो ।
नेपालको ३ महत्वपुर्ण जिल्लामा काभ्रे र चितवनपछि इलाम नै हो । जसले ५० हजार बढी दुध डेरीलाई दिइरहेको छ । हामीले राम्रो व्यवस्थापन गर्ने हो भने दैनिक १ लाख लिटर बढी दुध इलामले मात्र बाहिर विक्री गर्न सक्छौ । र इलाममा दुध पाउडर बनाउने कुरा संभव छ ।
२०६४ सालको चुनावपछि एमालेका धेरै नेता पराजित हुनुभयो यदपी तपाइ बिजय बन्दै देशको प्रधानमन्त्री हुनुभयो । यो निर्वाचनपछि झलनाथ खनालकाे पालाे राष्ट्रपती हाे ?
धेरै जनताले यस्तै प्रश्न सोध्ने गर्नुभएको छ । शुभेक्ष्या दिने गर्नुभएको छ । तपाइ आफै पत्रकार भएको हिसाबले पत्रकारले नै यस्तो प्रश्न जुन आशयले गर्नुभएको छ यो आशय व्यक्त गर्ने सम्पुर्णको मुखमा दुध र भात परोस भन्ने चाहान्छु । दोश्रो कुरा कुनै पनि पद मलाई चाहियो भनेर खोज्दिन । अहिलेसम्म जति पद प्राप्त गरे खोजी गरेर प्राप्त गरेको पनि हैन । पार्टीले आवश्यक्ता महसुस गरेर दिएको हो । आगामी दिनमा चाहे राष्ट्रपती भन्नुस, प्रधानमन्त्री भन्नुस, पार्टी अध्यक्ष भन्नुस कुनै पनि महत्वपुर्ण पद झलनाथ खनालले लिनुपर्छ भनेर दिइन्छ भने म एकदमै सक्रियतापुर्वक, प्रभावकारी ढंगले सफलतापुर्वक निर्वाह गर्न सक्छु भन्ने लाग्छ ।
बाम कार्यगत एकता भएको छ । तत्काल गठबन्धन छ पार्टी एकताको अवस्था कस्तो छ चुनावपछि लगतै पार्टी एकता हुन्छ त ?
बाम एकताका २ वटा चरण छन । पहिलो चरण हामी निर्वाचनमा छौ । आसन्न निर्वाचनमा तालमेल गरेर अघि बढेका छौ । यो तालमेललाई सफलतापुर्वक सम्पन्न गर्छौ । अहिलेसम्मको स्थितीमा सफल ढंगले गएको छ । साना मसिना कमजोरीका बावजुद यो सवलतापुर्वक अघि बढेको छ । यो सम्पन्न भएपछि पार्टी एकिरकणको चरणमा लाग्छौ । पार्टी एकिकरण गर्नको लागी कयौ चुनौती छन ।
हामीले बैचारिक एकता, राजनितिक एकता, सैद्धान्तिक एकता कायम गर्नुपर्छ । हाम्रा तरिका र कार्यपद्धतीमा एक रुपता कायम गर्नुपर्छ जसका लागी निकै बहस गर्नुपर्छ । अलिक धेरै पापड बेल्नुपर्छ त्यसपछि मात्रै एकिकरणको उचाइमा पुग्ने छौ । त्यसका लागी एकदमै होसियारीपुर्वक, गम्भिरतापुर्वक लक्ष्यलाई सामु राखेर अघि बढेका छौ ।