- विदुर कटुवाल
उदयपुर : उदयपुरमा विद्युतीय धरापमा परी उम्मेदवारसहित ४ जना गम्भीर घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठका अनुसार उदयपुरको प्रतिनधिसभा निर्वाचन क्षेत्र २ का नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित बुधबार बिहान विद्युतीय धरापमा परी ४ जना गम्भीर घाइते भएका छन्।

प्रजिअ श्रेष्ठका अनुसार उदयपुरगढी गाउँपालिका-६ मा पर्ने दनुवारवेसीमा भएको आक्रमणमा परी उम्मेदवार नारायणबहादुर कार्की, कांग्रेस कार्यकर्ता मीरा कटुवाल, धनमाया धौलाकोटी र उम्मेदवारका गाडी चालक राजन कार्की गम्भीर घाइते भएका छन्। ‘एम्बुस थापी आक्रमण भएको जानकारी आएको छ,’प्रजिअ श्रेष्ठले भने, ‘चारै जना गम्भीर घाइते भएकाले उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर मगाइएको छ।’
जिल्लाको सुरक्षा समितिको बैठकसमेत बस्दै छ। जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी प्रजिअ श्रेष्ठले जानकारी दिए। स्थानीयवासीका अनुसार गाडी पूर्णरुपमा क्षति भएको छ। प्रहरीले अनुसन्धान थालेको प्रजिअ श्रेष्ठले जनाएका छन्। कसले आक्रमण गर्यो भन्नेबारे खुल्न बाँकी रहेको पनि उनले जानकारी गराए।