राेङ । कुटिडाँडामा जारी प्रथम पाथिभरा गोल्डकपको सेमीफाइनल समिकरण पुरा भएको छ । मंगलबारको खेलहरुसंगै सेमीफाइनल भिडने टिम टुङगो लागेको हो । क्वाटरफाइनलको अन्तिम दिनको खेलमा राष्ट्रिय खेलाडीहरुले भरिएको जिर्मलेले फिक्कललाई ५–२ गोल अन्तरले पराजित गर्यो । जिर्मलेको जितमा झापा–११ का स्ट्राइकर कर्ण लिम्बुले २ गोल गरे । त्यसै गरी कप्तना विक्रम राईले २ गोल र विशाल राई ए ले १ गोल गरे । निरन्तर दबाब झेलेको फिक्कलको तर्फबाट पासाङ योल्मुले २ गोल फर्काएका थिए ।
सोही दिनको अर्को खेलमा तिनघरेले खुदुनावारीलाई ट्राइवेकरमा ४–३ गोल अन्तरले हरायो । निर्धारित समयमा दुवै टिमबाट २/२ गोल भएपछि खेलको निर्णय ट्राइवेकरबाट गरिएको थियो । विहिवार हुने सेमीफाइनलका खेलहरुमा चाहना समुह विर्तामोड र जिर्मले तथा बुधवारे र तिनघरेबिच प्रतिस्पर्धा हुनेछ ।
रोङ–३ कुटिडाँडा स्थित शान्ति निकेतन माविको खेलमैदानमा मंसिर ६ गतेबाट जारी प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका १८ टिमको सहभागीता रहेको आयोजक कुटिडाँडा युथ क्लबका अध्यक्ष सुरज लिम्बुले जानकारी दिए । मंसिर १७ गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले नगद ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
गोल्डकपको अवसरमा मिनी मेला समेत आयोजना भइरहेको छ ।
मेलामा विभिन्न सांगतिक एवम सांस्कृतिक कार्यक्रमहरु भइरहेको आयोजक समितीले जनाएको छ । मेलामा राष्ट्रिय स्तरका कलाकारको समेत प्रस्तुती रहनेछ ।