भद्रपुर : नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले बम पड्काएर उम्मेदवार र समाजलाई आतंकित पार्ने कार्य गलत भएको बताएका छन्। झापाको सदरमुकाम भद्रपुर १० स्थित सिटौला निवासमा सोमबार राति अज्ञात समूहले बम विस्फोट गराएको रिपोटिङमा गएका पत्रकारले राखेको जिज्ञासामा सिटौलाले भने, ‘चुनाव विथोल्ने समूहले मेरो घर नभएर देशभर नै जुन किसिमको बम विस्फोट गराउने कार्य गराइरहेको छ, त्यो कार्य गलत हो।’
पूर्वगहृमन्त्रीसमेत रहेका सिटौलाले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन जनता र संविधान निर्माणको पक्षमा रहेकोले चुनावलाई प्रभावित पार्ने सक्रिय समूहलाई सरकारले तत्काल नियन्त्रणमा लिनुपर्ने बताए। साथै उम्मेदवार तथा मतदान केन्द्रमा भइरहेको बम आतंकलाई सरकारदेखि स्थानीय प्रहरी प्रशासन सम्मले सुरक्षा निगरानी बढाउनुपर्ने सिटौलाले बताए।
दोस्रो चरणमा हुन गइरहेको जिल्लाका निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन उनले सबै पक्षसँग अनुरोध पनि गरेका छन्। सिटौलाको घर पछाडिको कपाउन्ड वालभित्र सोमबार राति १२ बजेर ४५ मिनेटमा अज्ञात समूहले बम विस्फोट गराएका थिए। बम विस्फोटबाट कपाउन्डको वाल भत्किएको छ। सदरमुकाममै बम विस्फोट भएपछि प्रहरी, प्रशासनलाई निर्वाचन शान्ति सुरक्षामा चुनौती थपिएको छ।