इलाम । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि इलाम जिल्लामा निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपाका १२ जना कार्यर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न समयमा निर्वाचन विथोल्ने गतिविधी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले कार्तिक २७ गते माङसेबुङ गाउँपालिका–२ माईती भई इलाम नगरपालिका ५–भोर्लेनी बसोबास गर्ने बसुन्धरा कार्की (मुना), कार्तिक २९ गते इलाम नगरपालिका–११का संजिप फागो र देउमाई नगरपालिका–८ जितपुरका मोहन बराल लाई पक्राउ गरेको थियो । यस्तै गरी इलाम नगरपालिका–१ मिलगोलाईका विशाल राईलाई कार्तिक ३० गते, इलाम नगरपालिका– ९ निवासी दलित विभाग प्रमुख खीनामाया परियारलाई मंसिर ४ गते, देउमाई नगरपालिका ९ का अविनाश भन्ने डम्बर मगरलाई मंसिर ५ गते पक्राउ गरिएको हो ।
त्यसै गरी इलाम नगरपालिका–७ टुडिखेलमा होटल चलाएर वस्ने संगिता फागोलाई मंसिर ७ गते, इलाम नगरपालिका–३ का अर्जुन कुमार थापा र इलाम नगरपालिका–८ की मुना भन्ने पार्बता बराललाई मंसिर ९ गते प्रहरीले पक्राउ गरेको हो । त्यस्तै भारत जिल्ला न्यु जलपाईगोडी फुलबारी ग्रामपन्च्यात–२ नेपाली गाँउ वस्ने बताउने सुवाष तामाङ र सूर्योदय नगरपालिका २ बस्ने सुमित खत्रीलाई मंसिर १० गते, इलाम नगरपालिका ६, धोविधारा वस्ने चुडामणी घिमिरेलाई मंसिर ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
इलामका प्रहरी प्रमुख एसपी विपिन कर्मचार्यले जिल्लामा छिटपुट रुपमा निर्वाचन विरोधी गतिविधी भएपनि सुरक्षा अवस्था मजवुत रहेको बताए । उनले जिल्लाका मतदातालाई ढुक्कसंग मतदान गर्ने वातावरण बनाउने दावी गरे । ‘उम्मेदवार र राजनीतिक दलहरूलाई शान्तिपूर्ण रूपमा चुनावी प्रचारमा लाग्न र मतदातालाई चुनावमा भोट हाल्न जान सुरक्षाका दृष्टिले कुनै समस्या हुनेछैन,’ उनले भने, ‘शान्तिपूर्ण निर्वाचनमा बाधा पुर्याउन सक्नेहरूलाई नियन्त्रणमा लिँदैछौ ।’