सोलुखुम्बु : सोलुखुम्बुको एक निर्वाचन स्थलबाहेक अन्य स्थानमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। जिल्लाका १२५ मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए।
जिल्लाको सदरमुकामलगायत माथिल्लो क्षेत्रमा भने चिसोका कारण बिहानीपख मतदाताको उपस्थिति न्यून देखिएको छ। चिसो धेरै भएका कारण मतदाताको उपस्थिति कम रहे पनि क्रमशः बाक्लिँदै गएको र दिउँसो चाप बढ्ने खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए।
तल्लो क्षेत्रमा भने बिहानैबाट मतदाताहरुको लाइन लागेको छ। यसअघि स्थानीय निकाय पुनः संरचनामा चित्त नबुझेर आन्दोलनस्वरुप स्थानीय तह निर्वाचनमा मतदान नगरेका सोलुखुम्बुको साबिक तिंला गाविसबासीले यस पटकको निर्वाचनमा पनि यतिबेलासम्म कोही पनि मतदानका लागि गएका छैनन्।
तिंलामा रहेका पाँचवटै मतदान केन्द्रमा बिहान ९ बजेसम्म मतदानका लागि कोही पनि नपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कर्मचारी मतपेटिका राखेर पूरा तयारीका साथ बसेका भए पनि अहिलेसम्म कोही पनि मतदाता मतदानका लागि केन्द्रमा नपुगेका हुन्। यसबेलासम्म सुरक्षित रुपमा मतदान कार्य भइरहेको र सुरक्षा अवस्था मजबुत रहेको प्रहरी नायब उपरीक्षक रेशम पराजुलीले जानकारी दिए।