इलाम । इलाममा गत आव रू। ८ अर्ब ५९ करोड ९४ लाख रुपैयाँबराबरको पशुपक्षीजन्य उत्पादन भएको छ । जिल्ला पशु सेवा कार्यालयले तयार गरेको आर्थिक वर्ष २०७३र७४ को प्रतिवेदनले यस्तो देखाएको हो । उक्त प्रतिवेदनअनुसार अघिल्लो आवको तुलनामा उत्पादन करीब अढाई प्रतिशत बढेको छ । पशुपक्षीजन्य उत्पादनमध्ये दूधमा जिल्ला आत्मनिर्भर बनेको छ ।
जिल्लामा गत आव १ लाख २३ हजार ७ सय मेट्रिक टन दूध उत्पादन भएको थियो । दूधबाट जिल्लाका किसानले ४ अर्ब ७० करोड ६ लाख रुपैयाँ आम्दानी गरेका छन् । जिल्लामा गाई, भैंसी, याक र चौरीबाट समेत दूध उत्पादन हुने गरेको छ । किसानले दूधबाट घिउ, छुर्पी, पनिर, ललीपप, चीजलगायत परिकार बनाई विक्री गर्दै आएका छन् ।
उत्पादित दूधमध्ये २० प्रतिशत विराटनगर दुुग्ध वितरण आयोजना र ८० प्रतिशत निजी डेरीमार्फत जिल्लाबाहिर निकासी हुने गरेको जिल्ला पशु सेवा कार्यालयका प्रास डिगबहादुर कार्कीले बताए । कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका विभिन्न गाउँमा २ सय ३० घरेलु डेरी सञ्चालनमा छन् । घरेलु डेरीले मुख्यगरी घिउ र छुर्पी उत्पादन गर्छन् । जिल्लामा उत्पादित छुर्पी अमेरिका, यूरोपलगायतका मुलुकमा निर्यात हुने गरेको छ । सरकारी र निजी गरी जिल्लामा २४ ओटा चीज कारखाना सञ्चालनमा छन् । यस्तै, दूधबाट बम्बैसन र ललीपप बनाउने उद्योग सातओटा रहेको पाइएको छ ।
जिल्लामा गत आव ४ सय ५६ मेट्रिक टन चीज उत्पादन भएको छ । यसबाट रू। २२ करोड ८० लाखबराबरको व्यवसाय भएको छ । यस्तै, घिउ ९ सय २८ मेट्रिक टन अर्थात् रू। ५१ करोड ४ लाखबराबरको उत्पादन भएको पाइएको छ । उक्त आर्थिक वर्षमा छुर्पी २ सय ९७ मेट्रिक टन अर्थात् २२ करोड २७ लाख ५० हजारबराबरको उत्पादन भएको छ । ललीपप साढे २१ मेट्रिक टन र पनिर ११ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ ।
जिल्लामा गत आव ३ अर्ब ८९ करोड ८८ लाखबराबरको मासु उत्पादन भएको पाइएको छ । ९ हजार ७ सय ४७ मेट्रिक टन उत्पादन भएको मासु खसी, बोका, राँगा, बङ्गुर, कुखुरा, हाँस, परेवा र माछासमेतको हो । यस्तै, कुखुरा र हाँसका अण्डा ६६ लाख ८१ हजार ओटा उत्पादन भएको कार्यालयको तथ्याङ्क छ ।