Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका गाँउ–गाँउमा तरकारी, घरमा- घरमा व्यपारी

इलामका गाँउ–गाँउमा तरकारी, घरमा- घरमा व्यपारी

  • नमीन ढकाल
  • सोमबार, मंसिर ४ २०७४


इलामका गाँउ–गाँउमा तरकारी, घरमा- घरमा व्यपारी

इलाम, । इलामका ग्रामीण क्षेत्रमा सडक विस्तार भएपछि किसानहरुलाई तरकारी बेच्न सहज भएको छ । व्यापारीहरु किसानको घरमै पुगेर तरकारी खरिद गर्दै आएका छन् । इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका लगायतका किसानहरुले आफूले उत्पादन गरेको तरकारी झापाका बजारहरुमा राम्रो मुल्यमा बिक्री गर्दै आएका छन् । यहाँका किसानहरुले उत्पादन गरेको तरकारी झापाका व्यापारीहरु घरैमा आएर खरिद गर्ने गरेका छन ।

अहिले रोङ गाउँपालिकाको कोल्बुङ्ग सूर्योदय नगरपालिकाको कन्याम, पञ्चकन्या लगायतका क्षेत्रमा उत्पादन हुने तरकारी झापाका बजारहरुमा उज्यालो नहुदै पुग्छन । किसानहरुले उत्पादन गरेको टमाटर, साग, आलु, इस्कुस लगायतका तरकारी मेची राजमार्गमा निकालेपछि सहज रुपमा झापाका बजारहरुमा पुग्ने गरेको छ । तराईका अन्य जिल्लाहरुमा उत्पादन भएको तरकारी भन्दा इलामको तरकारी ताजा हुने भएकोले तरकारीको मूल्य राम्रो हुने गरेको हो । रोङ गाउँपालिकाको कोल्बुङ्ग र सुर्योदय नगरपालिकाको कन्याम र पञ्चकन्याका किसानहरुले व्यवसायीक रुपमा इस्कूस उत्पादन गर्दै आएका छन् ।

यहाँका किसानहरुले सिजनमा दैनिक १० टन बढी इस्कूस झापाको विर्तामोड, दमक, धुलावारी र भारतको सिलिगुडि बजारमा बिक्रीका लागि लैजाने गरेका छन् । इस्कूस खेतीबाट मात्र यस क्षेत्रका किसानहरुले बर्षमा पाँच लाखसम्म आम्दानी गर्दै आएको पाइन्छ । इस्कुसको जरा, मून्टा र फल समेत बिक्रि हुने भएकाले यसलाई किसानले आम्दानीको श्रोत बनाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कन्यामको तारगाउँका किसानले व्यवसायीक काँक्रा खेती गरेर वर्षमा ५० लाख बढी आम्दानी गर्दै आएका छन् । काँक्रा खेतीबाट कन्याम तारगाउँका किसानले गत वर्ष ५० लाख आम्दानी गरेका थिए । किसानहरुले मौसमी र बेमौसमी तरकारी खेती गरी यसैको आम्दानीले घर खर्च चलाउँदै आएका छन् । जिल्लाका सीमावर्ती गाविसका किसानले पनि व्यवसायीक तरकारी खेतीबाट आम्दानी गर्दै आएको गोर्खे गाविसका राजेन गौतमले बताए ।

सिमा क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रिबाट बार्षिक एक करोड भारतीय रुपैयाँ नेपाल भित्रने गरेको पशुपतिनगरका कमल गदालले बताए । भारतीय व्यपारीले सीमावर्ती मानेभञ्ज्याङ्ग, पशुपतिनगर, जौबारी, तुम्लिङ्ग लगायका व्यापारीक केन्द्रबाट तरकारी खरिद गर्दै आएका छन् । यस क्षेत्रमा उत्पादित तरकारी भारतको पर्यटकीय क्षेत्र दार्जिलिङ्गमा निकासी हुने गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा खाध्यबाली नहुने भएकाले तरकारी खेती किसानको मूख्य आयश्रोत रहेको छ ।

माइ नगरपालिकामा व्यवसायीक रुपमा केरा खेती फस्टाउँदै गएको छ । चुरे क्षेत्र केरा खेतीका लागि उपुयुक्त भएपछि किसानले व्यवसायीक रुपमा खेती गर्दै आएका हुन् । बजारको समस्या नहुने र श्रमपनि कम लाग्ने गरेका कारण केरा खेतीमा किसानको आकर्षण बढेको हो । केरा खेती पछिल्लो समय सो क्षेत्रको मुख्य नगदेवाली समेत हुदै गएको छ । किसानका अनुसार केराखेती उत्पादन राम्रो भएपनि प्राविधिक सहयोगको अभाव छ । माई नगरपालिका क्षेत्रको दानाबारीबाट एक हप्तामा १० ट्रयाक्टर भन्दा बढी केरा झापाका बजारमा निकासी हुने गरेको छ ।

प्राविधिक सहयोग भए अझ केरा खेतीको विस्तार गर्न सकिने किसान बताउँछन् । अहिले माइ नगरपालिकाको १,२, ४ र ५ नम्बरमा व्यवसायीक रुपमा चिनीचम्पा, जाजी, माल्बोक जातका केराहरु किसानले खेती हुँदै आएको छ । किसानले ठेकदारी तरिकाले १० हजारदेखी ६० हजारसम्ममा बगान बिक्रि गर्दै आएका छन् । माई नगरपालिकामा उत्पादन हुने केरा काठमाण्डौमा कालीखोलाको केराको नामले चिनिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार