शिवसताक्षी। झिलझिलेमा जारी दोस्रो टुर्वोग सताक्षी गोल्डकपमा आयोजक सेमीफाइनलमा प्रवेश गरेको छ ।राष्ट्रिय खेलाडीहरु अनन्त तामाङ्ग, बिमल घर्तीमगर, सुनिल वल, विशाल श्रेष्ठ लगायतको सम्मिलित टिमले चर्च व्वाइज काठमाडौंलाई ३ – ० गोल अन्तरले हरायो ।
पहिलो हाफ बरावरीमा सकिएको खेलको दोश्रो हाफको ९ औ मिनेटमा चर्च व्याइजले गोल खायो । आयोजकका तर्फबाट जर्सी नं. १० का बिमल घर्तीमगरले जर्सी नं. ११ का खेलाडी तिर्थ बस्नेतको सुन्दर क्रसलाई सदुपयोग गर्दै गोल गर्दै खडेरी तोडेका थिए । त्यसैगरी खेलको ६६औं मिनेटमा अन्दाजी १५ यार्डको दूरीबाट आयोजकका जर्सी नं. १५ का सुनिल वलले फ्रि किक गरेको प्रहार चर्च ब्वाइजका किपरले जज गर्न नसकेपछि पोष्टको दिशा लिएको थियो भने तेस्रो गोल ७१औं मिनेटमा बिमलले चर्च ब्याइजका तीन खेलाडीलाई विट गराउदै गरेका थिए ।
सुरुवात देखि नै आक्रामण शैली अपनाएको आयोजकले गोल गर्न निकै हतारमा देखिन्थ्यो भने ३ विदेशी सहित मैदानमा उत्रेको चर्च ब्वाइजको आधा दर्जन जति प्रहार खेर गएको थियो । आयोजकले पनि त्यति नै मात्रामा गोललाई पोस्टको दिशा दिन सकेन । खेलको म्यान अफ द म्याच आयोजकका विमल घर्तीमगर भए । उनले म्यान अफ द म्याच स्पोन्सर महालक्ष्मी प्रा.लि. आइटेल टेक्नोमोबाइल कम्पनीमार्फत नगद १० हजार प्राप्त गरे । शुक्रबार हुने खेल मोरङ्ग ११ विरुद्ध रुपन्देही ११ बीच हुनेछ ।