इलाम । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा प्रत्यक्षतर्फ इलामबाट दुई जना मात्र महिला चुनावी मैदानमा उत्रिएका छन् । राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागीताको व्यवस्था संविधानमै भएपनि संघीय संरचनाको प्रतिनिधीसभा र प्रदेशमा निर्वाचनमा महिलाहरुको उचित प्रतिनिधित्व भएको छैन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार प्रदेश सभा सदस्यमा २ जना महिला चुनावी मैदानमा उत्रेका हुन् । चुनावी मैदानमा उत्रिनेहरुमा बाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यका लागि इलाम क्षेत्र नं १ (१) बाट एमालेकी खिनु लङ्वा लिम्बु र सोही क्षेत्रबाट संघिय समाजवादी फोरमको तर्फबाट लासाङ्ग तामाङ प्रतिस्पर्धामा रहेका छन । अंकगणितिय हिसाब गर्ने हो भने महिला सहभागीता ३.९२ प्रतिशतमात्र हुन आउँछ ।
प्रतिनिधीसभामा दलले पत्याएनन्
प्रतिनिधीसभाको २ निर्वाचन क्षेत्र रहेको इलाममा दुवै क्षेत्रमा गरेर १० राजनितिक दलका १८ जना उम्मेदवार चुनावी मैदानमा छन । तर चुनावमा होमिरहँदा ठुला तथा साना दलहरुले प्रतिनिधीसभामा महिलालाई पत्याएन्न । प्रतिनिधीसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ महिला सहभागीता शुन्य रहेको छ । प्रदेशसभा सदस्यको लागि १ स्वतन्त्र सहित ३३ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । जसमा २ जना महिला छन ।