बिर्तामाेड । संघीय समाजवादी फोरम नेपालबाट झापा क्षेत्र नं। ५ का उम्मेदवार विश्वदीप लिङ्देन नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मनोनयन दर्ताको लागि एक दिनमात्र बाँकी रहँदा लिङ्देनले पार्टी परित्याग गरेका हुन् ।
लिङ्देन पूर्वसभासद हुन् । उनले पहिलो संविधानसभा चुनावमा साविक झापा क्षेत्र नं। ७ बाट एमाले अध्यक्ष केपी ओलीलाई पराजित गरेका थिए । उक्त चुनावमा लिङ्देनले १६ हजार ९९ मत पाएका थिए । दोस्रो स्थानमा रहँदै पराजित भएका ओलीले १४ हजार ९ सय ५९ मत पाएका थिए । त्यसबेला माओवादीबाट चुनाव जितेका लिङ्देन वैद्य माओवादी, फोरम नेपाल हुँदै बुधबारदेखि कांग्रेसी बनेका हुन् ।
बुधबार बेलुका बिर्तामोडमा आयोजित एक कार्यक्रममा लिङ्देन, फोरम नेपालका अर्का केन्द्रीय सदस्य एवं इलाम जिल्ला अध्यक्ष देवेन्द्र राई, संघीय लिम्बूवान पार्टीका पूर्वमहासचिव सेसेहाङ खजुम, लिम्बूवानकै इलाम जिल्ला अध्यक्ष डम्बर लोरिङदेन, फोरम नेपालका प्रदेश समिति सचिव सुमन शर्मा जमरकट्टेल, दलित मुक्ति मोर्चाका अध्यक्ष मोहन सेन्चुरी, नेवा देय दबुका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार, संघीय नेवा संघका प्रदेश प्रमुख इन्द्र श्रेष्ठसहित २ सय ४० जनजाति नेता कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेश देवेन्द्र राईलाई इलाम क्षेत्र नं। १ मा कांग्रेसले प्रदेशसभाको टिकट दिने सहमति भएको लिङ्देनले बताए । लिङ्देनले उपेन्द्र यादवले मधेसका लागि मात्र राजनीति गरेकोले आफूले कांग्रेस राज्नु परेको बताए ।