पाँचथर । स्थापना यता पटक–पटक बिभाजन र आन्तरिक कलहमा मुछिएको लिम्बुवान फेरी यस पटक चुनावी प्रतिस्पर्धासँगै आन्दोलनमा जाने भएको छ । चुनावमा भाग पनि लिने आन्दोलन पनि जारी राख्ने पार्टीको योजना रहेको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष सागर केरुङले बताए । उनले भने, ‘हाम्रा माग अझै पुरा भएका छैनन् त्यसैका लागि आन्दोलन जारी राख्नु परेको हो ।’
चुनावमा सहभागी हुनु पनि आन्दोलनको एउटा स्वरुप भएको उनको भनाई छ । फिदिममा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले चुनाव पछि लिम्बुवान प्राप्तीको आन्दोलनमा रहेको मञ्च तेस्रो धारको शक्तिका रुपमा उदाउने दाबी गरे । नेकपा एमाले र माओवादी केन्द्र बिचको बाम एकता चर्चा संगै लोकतान्त्रिक शक्ति बिच पनि एकिकरणको प्रकृया चलिरहेका बेला लिम्बुवानको राजनीति गर्ने दलहरुले मिलेर पुर्वी क्षेत्रमा फरक धारको नेतृत्व गर्ने दाबी केरुङको छ । एउटै पार्टी हुँदा समेत मिल्न नसकेका दलहरु गठबन्धनमा कसरी अटाउलान भन्ने बिषय भने गम्भिर छ ।
मञ्चले पाँचथरमा प्रदेश र प्रतिनिधि सभाका लागि आफना उम्मेद्वार तयार पारेको छ । प्रतिनिधिसभाका लागि जिल्ला अध्यक्ष सागर केरुङले उम्मेद्वारी दिएका छन् भने प्रदेशमा क क्षेत्रबाट हर्कजंघ लिम्बु र ख क्षेत्रबाट दिपेन्द्र चेम्जोङले उम्मेद्वारी दिएका छन । पहिचानका आधारमा नेपाललाई १० जोड १ प्रान्तमा लैजानु पर्ने माग सहित लिम्बुवान जन्य पार्टीहरु आन्दोलनमा छन । संबिधान निर्माण संगै कम देखिएका पार्टीहरु स्थानीय तहको चुनावमा थप कमजोर साबिच भएका थिए ।
पाँचथरबाट ९ पार्टीका २५ उम्मेद्वारले भोट मागिरहेका छन । ११ पार्टीका २९ उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएको भए पनि दुई पार्टीका ४ उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन ।लिम्बुवानको राजनीतिमा सक्रिय मञ्लले उम्मेद्वारी फिर्ता नलिनुको पछाडि आन्दोलन जारी रहेको सन्देश दिन खोजिएको उक्त पार्टीले जनाएको छ । फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चका जिल्ला उपाध्यक्ष चन्द्रराज आङदेम्बेले चुनावमा जाने निर्णय संगै पार्टीमा फरक खालको आन्दोलन सुरु भएको बताए ।
चुनावको समयमा सुरक्षा ब्यवस्थामा बिशेष ध्यान दिन राज्यलाई आङदेम्बेले आग्रहसमेत गरे । साना दलहरुले भन्दा आचारंहिता उलंघनमा ठूला दलहरु नै उद्दत रहेको भन्दै उनले त्यस बिषयमा सञ्चार क्षेत्रसमेत जानकार हुनुपर्ने बताए । सानाले गरे मात्रै कार्वाहीको कुरा चल्ने पहिलेदेखिकै कुरो हो । उनले भने, ‘कमसेकम यस पटक त्यस्तो प्रवृतिको अन्त्य हुनुपर्यो ।’