विर्तामोडः तीन दिनदेखि विर्तामोडमा लगाइएको कर्फ्यु आइतबार साँझबाट हट्नसक्ने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताएका छन् । प्रजिअ तिवारीले आइतबार साँझसम्मको परिस्थिति हेरेर कर्फ्यु हटाउने तयारी गरिएको बताए ।
शनिबार साँझ नै कर्फ्यु हटाउने तयारी गरिए पनि परिस्थिति सामान्य बनिनसकेको भन्दै प्रशासनले कर्फ्युलाई यथावत राखेको छ । कर्फ्युका कारण जनजीवन प्रभावित बनेको छ ।
झापाको बिर्तामोडमा भएको गोलीकाण्डमा मृत्यु भएका प्रदर्शनकारी पक्षका अर्जुनधारा–११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय भएको थियो ।
शनिवार इलाका प्रहरी कार्यालय अनारमनीमा बसेको राजनीतिक दल, स्थानीय प्रशासन र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५–२५ हजार रुपैयाँ दिने समेत निर्णय भएको थियो ।
मृतक परिवारको सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने समेत सहमति भएको छ । बैठकले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा पीडित परिवारको माग अनुसार पुनः दुई दिन थप अनुसन्धान गर्ने निर्णय पनि गरेको छ । दसैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैंसावाडी स्थित झाडीमा फेला परेको थियो ।