Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फिक्कल ल्याण्डफिल्ड साइड निर्माणको ठेक्का तोडिने

फिक्कल ल्याण्डफिल्ड साइड निर्माणको ठेक्का तोडिने

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक ७ २०७४


फिक्कल ल्याण्डफिल्ड साइड निर्माणको ठेक्का तोडिने

इलाम । सूर्योदय नगरपालिकामा निर्माणाधीन ल्याण्डफिल्ड साइडको ठेक्का तोडिने भएको छ । जिल्ला प्राविधिक कार्यालय अन्तर्गत २०७२ भदौमा नै सम्पन्न गर्नेगरि निर्माण थालिएको ल्याण्ड फिल्ड साइड अढाई वर्ष बित्दा पनि ठेकेदारले निर्माण सम्पन्न नगरेपछि ठेक्का तोडिने भएको हो ।
जिल्ला समन्वय समितिको बैठकले उक्त ल्याण्डफिल्ड साइडको ठेक्का तोड्न प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो । समितिको बैठकमा सार्वजनिक खरिद ऐन र नियमावलीले ब्यवस्था गरेबमोजिम ल्याण्ड फिल्ड साइडको निर्माणसम्बन्धी कार्यको खरिद सम्झौता अन्त्य गर्न प्रक्रिया अगाडि बढाउनुका साथै सो को निर्माण ब्यवसायीलाई कालो सूचीमा राख्ने निर्णय भएको छ ।
उक्त साइडको निर्माणका लागि साविक इलाम नगरपालिका २ को थोदुङ्ग÷बौद्ध जेभीले २०७२ साल जेठ ९ गते जिल्ला प्राविधिक कार्यालयसँग सम्झौता गरेको थियो । सम्झौतामा सोही वर्षको भदौ ८ गते अर्थात तीन महिनाभित्रमा निर्माण कार्य सम्पन्न गर्ने उल्लेख छ । तर अढाइ वर्ष बित्दा पनि निर्माण कार्य आधा पनि भएको छैन ।
मूल्य अभिबृद्धि करसहित ६६ लाख २८ हजार ५१८ रुपैयाँमा ठेक्का कबोल गरेको निर्माण ब्यवसायीले विभिन्न चरणमा झण्डै आधा अर्थात ३२ लाख ४० हजार ८०६ रुपैयाँ भुक्तानी लिइसकेका छन् । सूर्योदय नगरपालिकाको मयुँखोला छेउमा बनिने ल्याण्ड फिल्ड साइडमा फोहोरबाट कम्पोष्ट मल उत्पादन हुनेगरिको संरचना बनाउने डिजाइन छ ।
त्यसका लागि कम्पाउण्ड वाल, तारजालीको घेराबारा, पालेघर, होम पाइप जडान, कम्प्लेक्सन निर्माणसहित अन्य कामहरु गरिने सम्झौतामा उल्लेख छ । तर निर्माण ब्यवसायीले हालसम्म पालेघर, तारजालीको घेराबारा र साइड खार्ने काम मात्र सम्पन्न गरेको छ । अब उल्लेखित बाहेक पनि एक तह कालो माटोले भने, अर्को तह गिटीले भर्ने त्यसका लागि एक प्रकारको जुट प्रयोग गर्ने लगायतका काम बाँकी नै छन् ।
काम ढिलो भएपछि पटकपटक कार्यालयले ताकेता र काम छिटो सम्पन्न गर्न निर्देशन गरेको प्रमुख जिल्ला इञ्जिनियर (डिई) ओमराज ढुङ्गानाले बताए । उनका अनुसार दुई पटक त म्याद थप गरेर काम सम्पन्न गर्न अवसर दिइएको थियो ।
कार्यालयको अभिलेखअनुसार पहिलोपटक एक वर्षको म्याद थप गरि २०७३ भदौ ८ गते सम्पन्न गर्न निर्देशन दिइएको थियो भने दोस्रो पटक २०७३ चैत ३० मा सक्नेगरि ७ महिनाको म्याद थप गरिएको थियो । निर्माण ब्यवसायीले काम चाहिँ नगरिकन पटकपटक म्याद थप्न मात्र आग्रह गरेपछि ठेक्का तोड्ने प्रक्रियामा जानु परेको डिई ढुङ्गानाले बताए ।
उक्त ल्याण्ड फिल्ड निर्माणको समयमा पटकपटक तत्कालीन जिल्ला विकास समिति, सूर्योदय नगरपालिकाबाट अलगअलग अनुगमन टोली खटिएर अनुगमन गरेका थिए । हरेक अनुगमन टोलीले निर्माण ब्यवसायी कम्पनीका प्रतिनिधी निमा शेर्पालाई तत्काल काम अगाडि बढाउन र सम्पन्न गर्न सुझाव दिएको थियो । तर पनि उनले डेढ वर्षदेखि कुनै काम गरेका छैनन् । सूर्योदय नगरपालिका कार्यालयका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईका अनुसार मौखिक र लिखित रुपमा नगरपालिकाबाट पनि धेरैपटक ध्यानाकर्षण गराइएको हो । तर काम गर्ने छाँट नै नदेखिएको भट्टराईको भनाई थियो ।

‘दुई वर्ष अघि नै निर्माण भएको भए नगरपालिकालाई फोहोर ब्यवस्थापनमा कति सहज हुन्थ्यो ?’, उनले भने, ‘यो दुई वर्षमा हामीले फोहोर ब्यवस्थापनमा कति समस्या झेल्यौँ होला, त्यसकै लागि कति खर्च नाश भयो होला ?’ धेरै पटक लामो लामो समयसम्म नगरपालिकाले फोहोर ब्यवस्थापन नसकेर फिक्कल बजारका विभिन्न भागमा थुपार्न बाध्य हुनु परेको पनि भट्टराईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार