Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

अचार उद्योगबाट आम्दानी बढाउँदै  इलामकी उषा

अचार उद्योगबाट आम्दानी बढाउँदै  इलामकी उषा

  • सुजता सुनुवार
  • आइतबार, कार्तिक ५ २०७४


अचार उद्योगबाट आम्दानी बढाउँदै  इलामकी उषा

इलाम। नेपाली विषयमा बिए पास गरेकी इलामकी उषा निरौलालाई घरबाट सरकारी जागिर खाने दवाव थियो । उषाको चाहना भने फरक थियो ।
एउटा जागिरमा अल्झनुभन्दा आफैँ केही गरौैं जस्तो लाग्थ्यो उषालाई । ‘पढेलेखेको मान्छेले त जागिर पो खानुपर्छ त,’ केही गरौं भन्ने उषाको योजनालाई सबैले भन्ने एउटै भनाईले दिक्क पारेको थियो ।

उद्योग वाणिज्य संघ इलामले २०६७ सालमा एक हप्ते अदुवाको क्याण्डी र अचार बनाउने तालिम दिलाएपछि भने उहाँको सपनाले आकार पायो । तालिमले उषालाई अहिले उद्यमी बनाएको छ । यही उद्यमले उहाँलाई वार्षिक आधा करोड रुपैयाँ कमाउने सफल महिला उद्ययमीको रुपमा पनि चिनाएको छ ।
उषा नेपालमा गरिखान सकिँदैन भन्दै ऋण काढेर विदेशिने युवाका लागि गाउँघर मै पनि केही गर्न सकिन्छ भन्ने उहाँ गतिलो उदाहरण पनि बन्नुभएको छ । ‘सात दिनको तालिमले मेरो त जीवन फेरिदियो, सरकारी जागिरे हुनुपर्ने बाध्यता सजिलै परिवर्तन गरिदियो,’ उषाले भन्नुभयो ।


‘इलाम अदुवा प्रशोधन उद्योग’ उषाको उद्योगको नाम हो । यो उद्योगमा अहिले उषाले चार जना महिलालाई रोजगार पनि दिनुभएको छ । उषा सानो मेहनतले उद्यमी बन्नुभएको हैन । उषाले यो सफलता हात पार्नका लागि रातदिन नभनेर खट्नुभएको छ । फेरि एकैचोटि उद्योगको साहुनी बन्नुभएको पनि हैन ।
हिजोआज नेपालमा केही गर्न सकिदैन भन्दै दलालले सित्र्तैमा विदेश पठाइदिन्छु भनेपछि अन्धो बनेर उनीहरुकै पछि लाग्ने महिलालाई देख्दा उषालाई २०६८ सालमा किराना पसल खोल्दाको दिन याद आउँछ ।
किराना पसल खोल्दा सुरुवातमा त पसलबाट उहाँले नाफा कमाउनु भएन । त्यो पसल उहाँको सपनाको मूलबाटोमा पुग्ने गोरेटो थियो । किराना पसलसँगै उहाँले सिकेको सीपको सदुपयोग गर्नुभयो । पसलमा अदुवाबाट बन्ने तितौरा, क्याण्डी, अचार लगायत विभिन्न प्रकारका सामाग्री आफैँले बनाएर बेच्न थाल्नुभयो ।

किराना पसलबाट बेच्ने यी सामग्रीको माग बढ्दै गयो । किराना पसले व्यवसाय गर्ने आत्माविश्वास बढायो उषालाई । त्यसपछि उहाँले २०७० सालबाट इलाम अदुवा प्रशोधन उद्योग आफ्नो नाममा दर्ता गर्नु भयो । ‘अहिले काम भ्याइनभ्याइ छ, मेरो उद्योगमा बनेका सामान अहिले काठमाडौंमा पनि बिक्रि हुन्छ,’ उषाले भन्नुभयो ।
उषाको उद्योगमा अग्र्या्निक खानेकुरा उत्पादन हुन्छ । उद्योगमा क्याण्डी, अचार, मिक्स अचार, तितौरा, चाना सुठो र सर्बत जस्ता ६ प्रकारका सामान उत्पादन हुन्छन् । उद्योगबाट उषाले वार्षिक ४५ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ भने खर्च कटाएर झण्डै १८ लाख रुपैयाँ नाफा हुने उषा बताउनुहुन्छ ।

क्याण्डी मात्र वार्षिक ६ लाखको बिक्री गर्नुहुन्छ । यस्तै तितौरा वार्षिक २ लाख माथिको कारोबार हुन्छ । सामान्य अचार र मिक्स अचार एक लाखभन्दा बढीको र सबै भन्दा थोरै सर्बतबाट वार्षिक २५ हजार रुपैयाँसम्मको आम्दानी हुने उषाले जानकारी दिनुभयो ।
उत्पादित सामान इलामका स्थानीय बजारदेखि विराटनगर, झापा, मोरङ्ग, र काठमाण्डौंमा पनि बिक्रि हुन्छ । तर व्यवस्थापनमा खट्न नसकेकाले बजार विस्तार गर्न नसकेको उषा बताउनुहुन्छ ।
उद्योगबाट अदुवाको मात्र ६ प्रकारका खाद्य सामग्री बन्छन् । अकबरे र अमलाको चार, लप्सीको दुई कागतीको एक र मिक्स अचार चार गरी २० प्रकारका खाद्य सामाग्री उत्पादन हुन्छन् । यी मध्ये अदुवाबाट मात्र बन्ने क्याण्डी र तितौराको बजारमा बढी रहेको छ ।समयको सदुपयोग गर्दै उषा अरुलाई पनि उद्यम गर्न सुझाव दिनुहुन्छ । उषा भन्नुहुन्छ, ‘मेहनत गर्ने हो भने दुईचार हजार कमाउन विदेश जान पर्दैन ।’ उहाँ अग्र्या्निक अदुवा खेतीबाट हतोत्साही भएका किसानलाई निराश नहुन सुझाउनुहुन्छ । जिल्ला कृषि विकास कार्यालय इलामका अनुसार अदुवा प्रशोधन गर्ने उद्योग जिल्लामा थोरै छन् । कार्यालयको तथ्याङ्क अनुसार इलाममा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको छ । उज्यालोबाट

प्रतिक्रिया
सम्बन्धित समाचार