Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पुर्वी पहाडका जलविद्युत आयोजनामा ३० अर्ब लगानी

पुर्वी पहाडका जलविद्युत आयोजनामा ३० अर्ब लगानी

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज २४ २०७४


पुर्वी पहाडका जलविद्युत आयोजनामा ३० अर्ब लगानी

इलाम ।  मेची पहाडका ३ जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा १८ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । जसमध्ये ८ आयोजनाको काम सम्पन्न भएको छ । १० आयोजना निर्माणाधीन छन् । कम्तीमा ३० अर्बको लगानीमा १० जलविद्युत् आयोजनाको काम सुरु गरिएको हो । निर्धारित समयमा आयोजनाको काम सम्पन्न नहुँदा आयोजना निर्माणका लागि लागत बढेको देखिन्छ । यहाँ निर्माणाधीन जलविद्युत अयोजनाका प्रमुखहरूका अनुसार १५ देखि २० करोडको लागतमा एक मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । त्यही स्टीमेटअनुसार जलविद्युत् निर्माणको काम सुरु गरिन्छ ।

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरका अनुसार मेची पहाडका १८ विद्युत् अयोजनाबाट दुई सय मेगावाट विद्युत् उत्पादन हुँदैछ । जसका लागि न्यूनतम ३० अर्बको लगानी रहेको बताइन्छ । निर्माणाधीन समयमा आयोजनाको काम सम्पन्न नभए लागत बढेर ४० अर्बसमेत पुग्ने अनुमान गरिएको छ । जलविद्युत् आयोजनामा ठूलो लगानी बैंकको छ भने केही मात्रामा स्थानीयले सेयर हालेका छन् ।

इलाममा ६ र पाँचथरको एक गरी २ आयोजनाको काम सम्पन्न भएको हो । करिब १० अर्बको लागतमा ८ आयोजनाबाट ६० मेगावाट बढी विद्युत् उत्पादन भइरहेको विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ । इलाममा सम्पन्न ६ आयोजनाबाट करिब ५० मेगावाट र पाँचथरमा सम्पन्न एउटा आयोजनाबाट करिब १६ मेगावाट विद्युत् उत्पादन हुन्छ । इलामको पुवाखोला ए र बी जलविद्युत् आयोजनाबाट क्रमशः ६ र ३ मेगावाट, माथिल्लो माईबाट ९.६ मेगावाट, सानिमा माईबाट २२ मेगावाट माई क्यासकेटबाट ७, माथिल्लो माई क्यासकेटबाट ६ जोगमाई हाइड्रोबाट ६ मेगावाट र पाँचथरको हेवाखोलाबाट १४ मेगावाट र फेमेखोलामा सञ्चालित खोरङ्गा जलविद्युत् आयोजनाबाट १ मेगावट विद्युत् उत्पादन हुन्छ । १३ निर्माणाधीन आयोजना मध्ये ६ वटा आयोजनाको काम इलाममा भइरहेको छ ।

११ अर्ब ११ करोड ५० लाखको लागतमा ७४.१ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । पाँचथरमा निर्माणाधीन ६ आयोजनाबाट ११९.९ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । उक्त आयोजना सम्पन्न गर्न १७ अर्ब ९८ करोड ५० लाख लगानी रहेको छ । ताप्लेजुङमा ५ मेगावाट क्षमताको एउटा आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । ७५ करोडभन्दा बढीको लागतमा सो आयोजनाको काम सन्न हुन लागेको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले हो । मेची पहाडमा निर्माणाधीन आयोजनाबाट विद्युत् उत्पादनपश्चात २ घण्टा लोडसेटिङ कटौती गर्न सकिने विद्युत प्रवद्र्धक   बताउँछन् ।  इलाममा निर्माणाधीन ६ आयोजनामध्ये ४ आयोजना माइखोलामा सञ्चालित छन् । माइखोलामा निर्माणाधीन ४ आयोजनाबाट २४.५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै पुवाखोला सीबाट २ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको होे ।

पाँचथरको हेवाखोलामा २ वटा आयोजना मध्ये एकको काम सम्पन्न भएको छ । पाँचथर पावर कम्पनीद्वारा सञ्चालित हेवाखोला ए बाट १४.९ मेगावाट सम्पन्न भएको छ भने माउन्टेन हाइड्रोद्वारा सञ्चालित तल्लो हेवाखोला जलविद्युत् आयोजनाबाट २१.६ मेगावट गरी जम्मा ३६.५ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । हेवाखोला ए जलविद्युत् आयोजनाका प्रमुख पुष्पज्योति ढुंगानाका अनुसार आयोजनाको सकिएर संचालनमा आएको छ । तर काबेली कोरिडोरको प्रशारण लाइन नहुँदा समस्या छ ।

तल्लो हेवाखोलाको जलविद्युत् आयोजनाको काम पनि धमाधम भइरहेको छ । त्यस्तै २५ मेगावाट क्षमताको अरुण कावेली आयोजना पनि निर्माणाधीन अवस्थामा छ । आयोजना प्रमुख गुरुप्रसाद न्यौपानेका अनुसार करिब ५ अर्बको लगानीबाट सुरु गरिएको आयोजनाको कामले गति लिएको छ । ३८ मेगावाट क्षमता भएको मेची पहाडकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना कावेली ए को विद्युत् खरिद सम्झौता (पीपीए) पश्चात आयोजना निर्माणको काम धमाधम भइरहेको छ । पाँचथरको इवाखोलामा २ वटा आयोजना निर्माणाधीन छन् । इवाखोला ए र बी आयोजना गरी १९.४ मेगावाट विद्युत् उत्पादन गर्ने उद्देश्यका साथ काम सुरु गरिएको हो ।ताप्लेजुङमा निर्माणाधीन फावाखोल जलविद्युत् आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । ५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको सो आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।  निर्माणाधीन केही आयोजनाको काम केही महिनाभित्रै सम्पन्न हुँदैछन् । केही ठूलो आयोजनाको कामले अपेक्षित गति लिन नसकेको आयोजना प्रमुखहरू बताउँछन् । स्थानीयको अवरोधका कारण कामले अपेक्षित गति लिन सक्दैन, तल्लो हेवाखोला जलविद्युत् आयोजनाका प्रमुख गणेश सुब्बाले भने, जति ठूलो आयोजना त्यति नै धेरै समस्या छन् । निर्धारित समयमा काम सम्पन्न गर्न नसक्दा आयोजना निर्माणका लागि लागत बढेर जान्छ । हेवाखोला ए का आयोजना प्रमुख ढुंगानाका अनुसार प्रतिमेगावाट १५ करोडको लागत स्टीमेटमा आयोजनाको काम थालिन्छ । तर, प्राविधिक समस्याका कारण निर्धारित समयमा काम सम्पन्न नहुँदा लागत बढेर प्रतिमेगावाट २० करोड जती खर्च हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार