Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लोक गायिका कोमल ओली एमालेमा

लोक गायिका कोमल ओली एमालेमा

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज १० २०७४


लोक गायिका कोमल ओली एमालेमा

इलाम । केही महिनाअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित लोक गायिका कोमल ओली सोमबार एमाले प्रवेश गरेकी छिन् । राप्रपा बिभाजन हुँदा उनी कमल थापाले नेतृत्व गरेको राप्रपामै थिइन् ।

लामो समय रेडियो नेपालमा काम गरेकी ओलीले सक्रिय राजनीतिमा लाग्ने भन्दै राप्रपा प्रवेश गरेपछि जागिर छाडेकी थिइन् । गायिका ओलीले स्थानीय तहको निर्वाचनमा राप्रपाका लागि विभिन्न स्थानमा भोट माग्नसमेत सक्रिय भएकी थिइन् ।

राप्रपाको विभाजन र स्ठानीय तहको निर्वाचनमा पार्टीले सन्तोषजनक जनमत नपाएपछि ओली एमालेमा प्रवेश गरेकी हुन् ।

आफ्नै गृह जिल्लामा पुगेर एमाले प्रवेश गरेकी ओलीसंगै काँग्रेसका स्थानीय नेता बलिभद्र राना, डिल्ली बहादुर खड्का, नयाँ शक्तीकी केन्द्रीय सदस्य निर्मला विक, राष्ट्रिय जनशक्ती पार्टीकी केन्द्रीय सदस्य कमला देउजा लगायत नेता कार्यकर्ता बिभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई स्वागत गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले एमालेमा रहेर कहिलै पनि पश्चाताप नहुने बताए ।

गौतमले पाँच बर्षभित्र सबै गरिवहरुलाई घर प्राप्त हुने समेत दावी गरे । उनले अबको संघीय र प्रदेश निर्वाचनमा एमाले पहिलो पार्टी हुने दावी गर्दै पाँच बर्षमा गरिवहरुको जीवनस्तर उकासिनेसमेत बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले एमालेले लिएको नीति र राष्ट्रवादी कार्यक्रमले अन्य पार्टीका नेता कार्यकर्तालाई आकर्षित गरेको बताए । जनताले परिवर्तन खोजेको र त्यसको सम्बोधन अहिले आबश्यक रहेको उनले बताए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न गौतम र पोख्रेल हेलिकोप्टरबाट घोराही आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार