इलाम । गाइकाे दूधबाट उत्पादन हुने छुर्पी युरोप निर्यात बढेपछि पूर्वी नेपालमा डेरी उद्योग खुल्ने क्रम बढेको छ । छुर्पी उद्योग खुलेपछि किसानले गाईको दूधको मुल्य राम्रो पाउनुका साथै उद्योगमा रोजगारका अवसर बढेको हो । कुकुरको आहारका लागि युरोपका बजारमा छुर्पी निर्यात भएपछि पुर्वी नेपालमा दुग्धजन्य उद्योग स्थापना हुने क्रम बढेको छ । २०६३ सालदेखि युरोप निर्यात शुरु भएको छुर्पीको माग बढ्दै गएपछि पुर्वी नेपालको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम र धनुकुटामा छुर्पी उद्योग बढेका हुन् । छुर्पी संकलन गर्ने व्यपारी गाउँमै आएर लगानी समेत गरेपछि पूर्वी नेपालका गाउँगाउँमा डेरी उद्योग खुल्ने क्रम बढेको हो । गाईको दूध प्रशोधन गरि गाउँबाट प्रतिकिलो एक हजार रुपैयाँमा खरिद हुँदै आएको छुर्पी निर्यातले गाउँमै रोजागारी वृद्धिसँगै किसानले दूधको मूल्य राम्रो पाएको उद्योगी दिनेश महतले बताउनुभयो ।

गाउँबाट संकलन गरिएको छुर्पी पूर्वी नेपालस्थित झापाको सुरुङ्गा र सुनसरीको धरानमा संकलन गरि ग्रेडिङ्ग गरिँदै आएको छ । ग्रेडिङ्ग गरिएको छुर्पी काठमाडौँमा खाध्यप्रविधिको परिक्षणपछि युरोपका बजारमा निर्यात हुन्छ । छुर्पी निर्यात शुरु हुँदा इलाममा एक सयको संख्यामा रहका डेरी उद्योग अहिले दर्ता हुने क्रम बढेर तीन सय पुगेका छन् । दर्ता प्रक्रिया बढेसँगै उद्योग संचालन भएर रोजगारीका अवसर बढ्दै गएको इलाम नगर कार्यापालिका उद्योग विकास शाखा इलामका प्रमुख उद्योग अधिकृत नविन कुमार पौडेल बताउनुभयो । शुरुमा छुर्पी संकलन गरि निर्यात गर्ने एकमात्र कम्पनी रहेकोमा अहिले २० बढी कम्पनीले निर्यात गर्दै आएका छन् । जसले गर्दा पूर्वी नेपालका पहाडी जिल्लामा छुर्पी उद्योग स्थापनाका लागि लगानी बढ्नुका साथै रोजगारीको अवसर पनि बढ्दै छन् ।
मासिक ६० हजार केजी छुर्पी संकलन हुँदै आएको पूर्वी नेपालमा परिक्षण गर्ने प्रयोगशाला काठमाडौँमा मात्रै हुँदा व्यवसायी भने मारमा छन् । आधुनिक प्रयोगसाला पूर्वी नेपालमै भएको भए निर्यातका लागि खर्च कम हुने व्यवसायीको भनाइ छ । एक मात्र प्रयोगशाला हुँदा झन्झट बढी भएको हो ।