इलाम । तेस्रो संविधान दिवस इलाममा पनि प्रभात फेरी तथा प्रवचन कार्यक्रम गरी सम्पन्न गरियो । इलाम सदरमुकामको ठुलो टुँडिखेलबाट मंगलबार बिहान निकालिएको प्रभात फेरी जिल्ला समन्वय समितिको सभाकक्षमा पुगेर प्रवचन कार्यक्रममा परिणत भएको थियो । दिवसको अवसर पारेर आयोजित कार्यक्रम सर्वसाधारणहरुको भने न्यून सहभागिता रहेको थियो ।

प्रभात फेरी कार्यक्रममा सशस्त्र र नेपाल प्रहरीको संलग्नता रहे पनि प्रवचन कार्यक्रममा अतिथि सहित सहभागीको संख्या ३५ कोे हाराहारीमा रहेको थियो ।
त्यस्तै इलाम जिल्लामा क्रियाशिल डेढ दर्जनको संख्यामा रहेका राजनितिक दललाई कार्यक्रममा अतिथिको रुपमा उपस्थितिको लागि उदघोषकले बोलाउँदा चार वटा मात्र राजनैतिक दलका प्रतिनिधिहरु उपस्थित भएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुको सहभागीता संविधान दिवसको कार्यक्रममा थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका भुमि ढुंगानाले जनता तथा दलहरु मौन बस्दा संविधान स्विकार गरेको वा पालना गरेको भन्ने नबुभ्mन आग्रह गर्दै संविधानलाई अझै समावेसी बनाउनु पर्नेमा जोड दिए । यता माओवादी केन्द्रका इन्र्चाज धिरेन शर्मा रमणले देशका हरेक क्षेत्रहरुमा राजनैतिककरण हुनु राम्रो हो तर दलियकरण भने हुनु भएन भन्ने बताउँदै राजनीतिलाई सच्चा रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिए ।
नेकपा एमालेका अध्यक्ष राम रानाले संविधान जारी भएपनि संक्रमण काल नसकिएको बताए । उनले विभिन्न समुहहरुले आफ्नो एजेण्डा स्थापित गर्न आन्दोलन गर्ने परिपाटीको विकास भएको भन्दै यस्तो संस्कार अन्त्य हुनु पर्ने बताए । नेपाली कांग्रेसका सचिव निरोज खड्गीले संविधान दिवसमा उल्लासमय उपस्थिति नभएको भन्दै यस्तो अवस्था आउनुमा दलहरु चुकेको बताए ।

महिला नेतृ विष्णु दहालले संविधानमा महिलाहरुलाई विशेष अधिकार दिएपनि व्यवहारमा लागु नभएको बताईन । राजनैतिक दलहरुले महिलाहरुलाई अगाडि बढ्नमा अंकुश लगाएको समेत बताईन् । इलाम नगर प्रमुख महेश बस्नेतले नेपालको संविधान २०७२ लाई म्याग्नाकार्टासँग तुलना गरे । उनले दक्षिणको शक्तिशाली हावालाई यो संविधानले छेकेका कारण नाकावन्दीको सामना गर्नुपरेको बताए ।
जनताले नाकाबन्दी चिर्दै संविधानलाई अघि बढाएर प्रदेश नं. २ निर्वाचन समेत सम्पन्न गर्न संविधान सफल भएको बस्नेतले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख तथा संविधान दिवस जिल्ला मुल समारोह समितिका संयोजक गणेश बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजयी तथा उपविजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा अधिवक्ता जसबहादुर लुंगेलीले नेपालको संविधान २०७२ को दुर्बल तथा सबल पक्षहरुको बुँदागत रुपमा प्रस्तुत गरेका थिए । संविधान दिवसको अवसरमा दिप प्रज्वलन समेत गरिएको छ ।
इलाम चोक बजारमा भेला भएका राजनितिक दलका प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी एवम स्थानियबासिन्दाले संविधान दिवस २०७४ लेखेर मैनवती प्रज्वलन गरेका छन । यसैगरि इलामको सूर्योदय नगरपालिकामा पनि संविधान दिवस मनाइएको छ । मेयर रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले कार्यक्रको औचित्य प्रस्तुत गनएको थियो । सूर्योदय नगरपालिकाका सबै वडाध्यक्षसमेत सहभागि नभएको कार्यक्रममा नगर उपप्रमुख दूर्गादेवी भट्टराई, नेपाली काग्रेसका दिपक अधिकारी, नेकपा एमालेका सनतकुमार पराजुली, माओवादी केन्द्रका विवेक राई, राजनीतिक नेता डुपछिरिङ काजि र प्रमुख अतिथि संसद सुर्यवाला राईले असंतुष्ट पक्षलाई समेटर पूर्णरुपमा संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।