इलाम । इलामको देउमाइ नगरपालिका स्थित मंगलबारेमा टंकमाया गौतम स्मृति प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिताको आज उद्घाटन भएको छ । मंगलबारेको भानुभक्त माध्यामिक विद्यालयमा पुर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौला (निरज) र प्रमुख अतिथि नगर प्रमुख सुर्य पोख्रेलले संयुक्तरुपमा चेसको गोटी चालेर उद्घाटन गरे ।
प्रतियोगितामा सहभागिता जनाउन पुर्व नेपाल च्याम्पियन निरौला, एमेच्योर च्याम्पियन मणीराज डाँगी र पुर्वाञ्चल च्याम्पियन प्रकाश नेपाल सहित प्रदेश नम्बर १ का ४० खेलाडीको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रमा प्रमुख अतिथि नगर प्रमुख सुर्य पोख्रेल,नेपाल बुद्धिचाल संघका बरिष्ट उपाध्यक्ष विदुर गौतम, महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका पुर्व क्याम्पस प्रमुख धरणी गौतम , वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र प्रसाद बास्तोला लगायतले मन्तब्य राखेका थिए ।
जिल्ला बुद्धिचाल संघ इलामका अध्यक्ष याम प्रसाद लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा स्व. टंकमाया गौतमका श्रीमान देवी गौतमले स्वागत मन्तव्य राखेका थिए । प्रतियोगिताका विजेताले नगद २५ हजार प्राप्त गर्नेछन भने दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले नगद १० हजार सहित ट्रफि तथा मेडल प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका उत्कष्ट दश सहित विभिन्न विधाका गरि १७ खेलाडीले पुरस्कार प्राप्त गर्नेछन् । ६ गते सम्म संचालन हुने सो प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख रहेको छ ।