इलाम । जिल्लाका विभिन्न खोलामा बन्न लागेका पक्की पुल निर्धारित समयमा कुनै काम सकिँदैनन् । सडक डिभिजन कार्यालयमार्फत निर्माणाधीन कतिपय पुल पटक–पटक म्याद थप गर्दा पनि निर्माण सकिन्न । मुख्य ठेकेदारले अर्कैलाई काम जिम्मा दिने र उसले प्राथमिकतामा नराख्दा यस्तो समस्या भएको कार्यालयको भनाइ छ ।
बर्सेनि पुल निर्माणमा नयाँनयाँ डिजाइन परिवर्तन हुने भएकाले पनि दक्ष निर्माण व्यवसायी र जनशक्ति अभाव देखिएको हो । कतिपय पुलमा भारतबाट दक्ष कामदार ल्याउनुपर्नेछ । भौगोलिक कठिनाइ, राजनीतिक कारण देखाउँदै भरसक कामदार नआउने समस्याले अधिकांश निर्माण कम्पनी पीडित छन् । निर्माण कम्पनीले पनि समयमा काम नगर्ने अनि ढिलो थाल्दा भलबाढी र पहिरोको समस्या झेल्नुपर्ने अवस्था छ ।
‘केही पुल निर्माणमा समस्या देखिएको छ,’ कार्यालय प्रमुख शिवलाल दाहालले भने, ‘धेरै पुल भने निर्माण अन्तिम चरणमा पुगेका छन् ।’ कतिपय पुल आधा पनि बनेका छैनन् । केहीको एप्रोच रोड पूरा भएका छैनन् । चिसापानी र सोयाकबीच माईखोलाको बेलासेमा पुल निर्माण सकिए पनि एप्रोच रोड बन्न सकेको छैन । ४ करोड ६२ लाख लागतमा निर्मित एक सय मिटर लामो पुलको एप्रोच रोड बनाउने स्थानमा तीनवटा रूख भएकाले समस्या परेको कार्यालयको भनाइ छ ।
निर्माण थालिएको लामो समय बित्दा पनि जिल्लाका दुइटा पक्की पुलको निर्माण पूरा हुन सकेको छैन । सडक डिभिजन कार्यालयमार्फत निर्माणाधीन पुल ठेकेदार र कार्यालयको लापरबाहीका कारण समयमा नसकिएको स्थानीय बताउँछन् ।
रोङ गाउँपालिकाको इरौंटार र झापाको बाहुनडाँगीबीच सुकेनिन्दा खोलाको पुल समयमा निर्माण नहुँदा कटानसमेत समस्या भएको उनीहरूको भनाइ छ । निर्माण थालिएको पाँच वर्ष बिते पनि काम पूरा भएन । आव ०६७र६८ मा निर्माण थालिएको पुल जिम्मा सुरुचु थोदुङ जेभीले पाएको थियो । ६० मिटर लामो पुलको दुई वर्षमा काम सक्ने भनिए पनि अझै अपुरो हुँदा स्थानीयले सास्ती पाएका छन् । यस क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित हुने यो पुल इलामको जिर्मलेदेखि झापा बर्नेसम्मकालाई आवश्यक छ ।
समयमा निर्माण पूरा गर्न र गुणस्तर कायम गर्न स्थानीयले निरन्तर खबरदारी गरे पनि समयमा नबन्दा समस्या भएको स्थानीय वृहस्पति खतिवडाले बताए । आउजाउसँगै फलफूल र नगदेबाली बिक्री र उपभोग्य सामग्री ल्याउन समस्या भएको छ । पटकरपटक काम सक्न ताकेता गर्दा पनि हेलचेक्रयाइँ गरेकाले कारबाहीको दायरामा ल्याउने सडक डिभिजनको भनाइ छ । दुई करोड छ लाख रुपैयाँमा पुल निर्माण सम्झौता भएको थियो ।
डिभिजन कार्यालयअन्तर्गत नै निर्माण थालिएको सुखानी पुल पनि सकिएको छैन । ५० मिटर लामो यो पुलको निर्माण ०७३ असारमा सक्नुपर्ने थियो । करिब डेढ करोड लागतमा बनाउने पुलको फिनिसिङ र एप्रोच रोडको काम बाँकी छ । माई नगरपालिकाको दानाबारीमा निर्माणाधीन पुलको ठेक्का स्काइ अजम्बर शिवराम जेभीले पाएको हो । यसअघि निर्माण सम्पन्न भएर सवारी गुड्न थालेको नगरपालिका र माईजोगमाई–नाम्सालिङबीचको पुलमुनिको माटो नफाल्दा जोखिम भएको स्थानीयले बताए ।
निर्माण कार्यमा ढिलाइ भएको माई नगरपालिकाकै दानाबारी र चिसापानी खण्डमा पर्ने गरुवा पुल भने अझै नसकिने अवस्थामा रहेको कार्यालयले जनाएको छ । सडक डिभिजनमार्फत इलाम नगरपालिका र माईजोगमाईबीच दुधाङ, मेची राजमार्गको पुवाखोला, सन्दकपुर गाउँपालिकाको राते, निबु र गिताङ खोला, चुलाचुलीको दुधेखोला, माङसेबुङ बाँझोको मझुवाखोला, माईजोगमाईको जोगमाईखोलामा पक्की पुल निर्माण थालिएको छ ।