इलाम । इलामको माङ्सेबुङ्ग गाउँपालिका अहिले समुन्द्रको टापुजस्तै भएको छ । गाउँपालिका कार्यालय पुग्ने योजना छ भने ज्यान नै बाजी मारेर हिड्नुपर्यो । इलाम सदरमुकाम हुँदै जाँदा गजुरमुखि छेउमा रहेको ठाडे खोलो तगारो छ भने झापाको दमक रबी चिसापानी सडक हुँदै आउनका लागि रतुवा खोलाले बर्षातका चार महिना बाटो काट्न दिँदैन । दियोस् पनि कसरी हिँउदमा त्यही रतुवा खोलाको थातिमा डोजर बजारेर सम्याएर बनाएको बाटोमा गाडि गुडाउँनु पर्छ ।

हिउँदमा पानी सानो हुँदा १२ किलोमिटर रतुवाको छातिमाथि हिडिन्थ्यो, गाडि गुडाउने आँट गरिन्थ्यो । बर्षातमा हिउँदमा गरिने आँट माङ्मालुङ्गदेखि आउने भेलसँग लड्ने कसको आँट । त्यही भएर माङ्सेबुङ्गबासीको बर्षातको ५ महिने बास कुनै सामुद्रिक टापुमा बसेको भन्दा फरक पर्दैन र अनुभव पनि फरक छैन । जिल्ला विकास समिति इलामका पूर्व उप–सभापति जयप्रकास राई भन्छन्, मैले यो टापुमा पाँच दशक पार गरिसँके अधिकार सहितको स्थानीय तह बनेर नयाँ नेतृत्व आएकाले विकास हुने आस छ ।

गजुरमुखि धाम नजिकै रहेको ठाडे खोलाको भरमा सिँचाई गरि धान रोप्दै गरेका एक किसानले भने– खेती गर्न यही खोला भर पर्छु तर, बिरामी हुँदा र केही काम पर्दा इलाम जानुपर्यो भने यसैको डरले पाइलो चल्दैन । उनी भन्छन्, कति सहनु बिरामी हुँदा त जानैपर्यो । मेरो ज्यान यो ठाडे खोलाले धेरैपटक बर्षातमा लछारपछार पारेको छ ।
यी हुन्, माङ्सेबुङ्गका समस्या
नयाँ संविधान निर्माणपछि संघीय संरचना बन्ने निश्चित भयो । स तीनको विधान पछि तन तहको संरचना बन्ने पक्का भयो । जनअनुसार साविक तीन गाविस मिलेर माङ्सेबुङ्ग गाउँपालिका बन्यो । गजुरमुखि, इभाङ्ग र बाँझो गाविस मिलेर बनेको माङ्सेबुङ्ग गाउँपालिका क्षेत्रलाई पहिलेदेखिनै इलामको कणार्ली भनिन्थ्यो । छ पनि त्यस्तै ।

यहाँ सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतको समस्या पेचिलो रुपमा छ । सडक हिउँका ६ महिना मात्रै चल्छ भने, केन्द्रिय प्रशारण लाइन नपुग्दा स्थानीयबासीको दैनिकी कष्टकर छ । सामुदायीक विद्यालय भएको यस गाउँपालिकामा राज्यको अनुगमनको कमजोरीले रिजल्ट राम्रो आएको छैन । खानेपानीको समस्या उस्तै छ । बर्षातमा परेको पानी जम्मा गरेर पनि गर्जो टार्नुपरेको प्रत्यक्ष देखियो । हिउँदमा त खोला खोल्सा नधाइकन सुख छैन । हिउँदमा दमक र इलाम सदरमुकाम आएर उपचार गरेपनि बर्षातमा उपचार पाउन निक्कै मुस्किल छ । सडकको दुरावस्थाले गर्दा बोकेर लानुपर्दा कतिको अस्पताल देख्न नपाइ ज्यान गएका घटना धेरै छन् ।
डेढ वर्षमा सडक सुविधा, पाँच वर्षमा विकासकाे दाैड अध्यक्ष डिकेन्द्र इदिङ्गो

बर्षातका ६ महिना गाडि नचल्दाको समस्या भोग्दै तीन दशक बढी बिताएका माङ्सेबुङ्ग –२ चुचिनुम्बाका डिकेन्द्र इदिङ्गो स्थानीय तहको निर्वाचनबाट गाउँपालिका अध्यक्षको नेतृत्व पाएका छन् । यी सबै चुनौतीको समाना गर्दै गाउँमा विकासको फड्को मार्ने पाँच वर्षे नेतृत्व उनैको काधमा छ । उनी भन्छन्, सबै समस्याको समाधान गर्न पहिले सडक आवश्यक पर्ने भएकाले डेढ वर्ष भित्रमा झापाको दमक र इलाम सदरमुकाम जोड्ने सडकमा १२ महिना नै गाडि कुदाउने र पाँच वर्षमा समग्र विकासले फड्को मार्ने योजना छ ।
यस्ता छन् गाउँपालिका अध्यक्ष डिकेन्द्रि इदिङ्गो प्राथमिकता
सडक
माङ्सेबुङ्ग गाउँपालिका इलामको विकास क्षेत्र हो । यो क्षेत्रको नेतृत्व पाउने अवसर मिलेको छ । यहाँ चुनौती र अवसर धेरै छन् । चुनौतीको सामना गरेर अवसर सिर्जना गर्नुपर्ने छ । सडकको दुराअवस्था छ । नजिकको बजार रहेको झापाको दमक पुग्ने सडक बर्षातमा चल्दैन र इलाम सदरमुकाम जोड्ने सडकको अवस्था पनि उस्तै छ ।

गाउँपालिकाले यी दुई सडकलाई प्राथमिकता राखेर काम गर्ने योजना बनाउँदै छ । दमक बजार जोड्ने दमक रबी चिसापानी सडक र इलाम सदमुमकाम जोड्ने माङ्मालुङ्ग गजुरमुखि मंगलबारे हुँदै इलाम जोड्ने बाटोलाई स्तरउन्नती गर्ने योजना नै पहिलो प्राथमिकता हो । यी सडकलाई कम्तिमा पनि डेढ वर्षमा १२ महिना नै गाडि कुद्ने गरि निर्माणका लागि बजेट र ध्यान केन्द्रित गर्ने योजना छ । यी सडकको स्तरउन्नती भएमा बाँकी चुनौती सामना गर्न सहज हुन्छ । एक वडा कार्यालयदेखि अर्को वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्ने सडकको पनि क्रमस स्तरउनती गर्ने योजना छ । यसरी सडक सञ्जालको बिस्तार गरेमा जनताले घरबाट वडा कार्यालय र गाउँपालिका कार्यालयबाट सेवा लिएर सहजै घर फकिर्नेछन् ।
विद्युत
माङ्सेबुङ्ग गाउँपालिकामा अहिलेसम्म केन्द्रिय प्रशारण लाइन पुगेको छैन । विद्युत सुविधा नपुग्दा खेरी यहाँका जनता अन्धकारमा बस्न बाध्य छन् । अहिले विद्युत सुविधा नहुँदा गाउँपालिका कार्यालयले पनि काम गर्न गाह्रो भएको छ । मन्त्रालय र माथिल्लो निकायबाट प्राप्त हुने सुचनाका सामग्री विद्युत नहुँदा छिटो प्राप्त गर्न गाह्रो भएको छ । विद्युत नहुँदा इमेल, इन्टरनेट पनि चलाउन समस्या भएको हो । त्यसैले अब विद्युतको विस्तारका लागि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गर्ने काम भइरहेको छ ।

उर्जा मन्त्रालय र विद्युत प्राधिकरणसँग पटक–पटक काम छलफल भइरहेकाले चाँडो भन्दा चाँडो गाउँपालिका कार्यालयसम्म विद्युत विस्तार गर्ने र बाँकी ठाउँमा पनि विद्युतिकरण गर्ने योजना छ । विद्युत प्राधिकरणले भदौदेखि विद्युत विस्तार गर्ने योजनाको काम गर्ने भनेकाले चाँडै काम हुन्छ । विद्युतिकरणको काम भएपछि गाउँमा घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्छ । त्यसैले गाउँपालिकाले विद्युतीकरणका लागि प्राथमिकता दिएको छु ।
स्वास्थ्य
गाउँपालिका क्षेत्रमा अहिले पुरानै सरचना अनुसारका स्वास्थ्य केन्द्र र केही निजी मेडिकलहरु छन् । स्वास्थ्य उपचारका लागि दमक, देउमाई नगरपालिकाका क्षेत्रको प्राथमिक स्वास्थ्य चौकी, इलाम अस्पताल जानुपर्छ । नयाँ स्वास्थ्य ऐनमा एमबिबिएस डाक्टर सहितको स्वास्थ्य उपचारको व्यवस्था गर्ने प्रस्ताव छ तर त्यो तत्कालका लागि सम्भव छैन । स्वास्थ्य उपचारका लागि भएका संरचनाहरुको सुधार गरि जनताको उपचार गर्ने र दमक रबी तथा इलाम जोड्ने सडक छिटो बनाएर सहज रुपमा समयमै बिरामीलाई अन्य अस्पताल पुर्याउने व्यवस्था गर्ने योजना छ ।
शिक्षा
शिक्षा क्षेत्रमा समस्या धेरै छन् । सामुदायीक विद्यालयमा धेरै लगानी भएपनि रिजल्ट राम्रो आएको छैन । त्यसैले अब शिक्षा क्षेत्रका सम्पूर्ण सरोकारवालासँग छलफल गरि काम गर्ने योजना छ । शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्याक बाट समस्या पहिचान गरि लागु गर्ने योजना बन्छ ।
खानेपानी
चुरे र महाभारत पर्वत परेकाले खानेपानीको समस्या पेचिलो रुपमा देखिएको छ । खानेपानीका लागि बनाइएका योजनाहरु मर्मत संम्भार नहुँदा अलपत्र अवस्थामा छन् । पुराना योजनाहरुको मर्मत गर्ने र नयाँ योजना संचालनका लागि पहल गरि खानेपानीको व्यवस्था गर्न गाउँपालिका प्रतिवद्ध छ । त्यसका लागि सबै वडा र क्षेत्रको अध्ययन गर्ने योजना बनाउने छौँ ।
पर्यटक
माङ्सेबुङ्ग गाउँपालिका धार्मिक पर्यटकीय क्षेत्र भएको स्थान हो । गजुरमुखि, माङ्मालुङ्ग, किराँतहरुको आस्थाको केन्द्र माङ्सेबुङ्ग, महागुरु राष्ट्रिय विभुति फाल्गुनन्दको जन्मस्थान चुचिनुम्बा जस्ता प्रसिद्धस्थल छन् । यहाँ ओमनन्दको पनि जन्मस्थान भएको ठाउँ हो । कतिपय पर्यटकीयस्थल ओझेलमा परेका छन् । पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना निर्माण र प्रचारप्रसारका लागि काम गर्ने योजना बनाएर लागु गर्छौ । संभावना अधिक भएपनि भौतिक पूर्वाधार नहुँदा पर्यटकहरुले पनि भनेजस्तो सुविधा पाएका छैनन् । अध्यक्ष इदिङ्गो भन्छन्, हाम्रो गाउँपालिकाकाे टिम एक भएर माङ्सेबुङ्गका चुनौतीको सामना गरि अवसरमा बदल्न लागिपर्नेछ ।