इलाम, । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि इलाममा रहेका नाकाहरू सोमबार राती १२ बजेदेखी ७२ घण्टासम्म सिल भएका छन । जिल्ला सुरक्षा समितीका संयोजक एवम प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै असार ११ गते राती १२ बजे १४ गते राती १२ बजेसम्म ७२ घण्टा सिमा नाका बन्द गरिएको जानकारी दिए ।
झापाको बाहुनडागीदेखी पाँचथरको फालेलुङसम्म ५२ किलोमिटर इलामको क्षेत्रफल भारतसँग प्रत्यक्ष जोडिएको छ । प्रजिअ दाहालका अनुसार जिल्लाको नाकामा पर्ने सन्दकपुर, पशुपतीनगर, मानेभञ्ज्याङ, तम्लिङ, जिर्मले लगायतका नाकाहरु बन्द गरिएको छ । ‘भारतसँग इलाम खुला सीमा भएको जिल्ला हो, संभव भएसम्म सबै नाका सिल गर्छौं’, उनले भने, ‘ शवबाहन, एम्वुलेन्स तथा उद्धारका साधन बाहेक अन्य साधान प्रवेशमा रोक लगाइएको छ ’ उनले भारतको सुरक्षा निकायसँग पनि सहकार्य गरेको जानकारी दिए । ‘हामीले बैठक गरेरै भारतका सुरक्षाकर्मीले पनि ७२ घण्टासम्म सहयोग गर्ने वातावरण बनाएका छौँ’ उनले भने ‘सिमा सुरक्षामा संयुक्त रुपमा गस्ती गर्ने भारत पक्षसँग सल्लाह भएको छ ।’
इलामको निर्वाचनका लागि प्रहरी र म्यादी प्रहरी गरी १ हजार ८ सय सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना ६ सय र शसस्त्र प्रहरी ५ सय परिचालन गरिएकाे छ । दाहालका अनुसार आइतबारबाटै सिमाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।