फिदिम । चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै पाँचथर प्रहरीले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । उनिहरुलाई बिहीबार जिल्लाका विभिन्न स्थानमा चुनाव बिथोल्ने योजना बनाइरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका ५ का जितबहादुर चेम्जोङ र कविराज चेम्जोङ फाल्गुनन्द ४ का विजय नेम्बाङ र ताप्लेजुङ सिदिङवा गाउँपालिका साब्लाखुका मुस्कान लिम्बू, धनकुटा पाख्रिबास ३ का संघर्ष परियार, रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । उनीहरुलाई थप अनुसन्धान गरी सार्वजनिक मुद्दा दर्ता गर्ने बस्नेतले जानकारी दिए । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।
चुनाव विरोधी गतिविधि गर्ने कसैलाई पनि नछोड्ने प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । यस अघि पनि पाँचथर प्रहरीले जिल्ला इञ्चार्ज अर्जुन आचार्य सौगात, विरेन्द्र मग्राती सहित ४ जनालाई पक्राउ गरेको छ ।