Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

निर्वाचन बहिष्कारमा चार लिम्बुवानको घोषणा

निर्वाचन बहिष्कारमा चार लिम्बुवानको घोषणा

  • सन्देश सम्बाददाता
  • बुधबार, जेष्ठ ३१ २०७४


निर्वाचन बहिष्कारमा चार लिम्बुवानको घोषणा

फिदिम । चार लिम्बुवान पार्टीले आगामी असार १४ गते तय गरिएको स्थानीय तहको निर्वाच्न सक्रिय रुपमा बहिष्कार गर्ने घोषणा गरेका छन् ।

संघीय लिम्बुवान पार्टी, संघीय लिम्बुवान मञ्च, लिम्बुवान मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी यथास्थितिमा निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् ।

संघीय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, संघीय लिम्बुवान मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष सुवास खापुङ र लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीका अध्यक्ष मिसेकहाङ थाम्सुहाङले संयुक्त विज्ञप्ति जारी गरी संघीय गठबन्धनको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।

राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनले गरेको आन्दोलनलाई पूर्ण रुपमा साथ दिने भन्दै सोही आन्दोलनको कार्यक्रमसमेत चार लिम्बुवान पार्टीले सार्वजनिक गरेका छन् । आन्दोलनका कार्यक्रमअनुसार जेठ ३० देखि २ गतेसम्म मधेस तथा लिम्बुवान क्षेत्रमा आमहड्ताल, असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन, असार ६ देखि १४ गतेसम्म निर्वाचनका गतिविधिमा अवरोध गर्ने, असार ९ गते मसाल जुलुस निकाल्ने तथा असार १० देखि अनिश्चितकालीन आमहड्ताल रहेका छन् ।

निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको पूर्वमा राम्रो प्रभाव राख्ने संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले भने असार २ गतेअघि निकास आउने र लिम्बुवान पनि निर्वाचनमा सहभागी हुने वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् ।

लिम्बुवान सधैँ निर्वाचनभन्दा अलग

लिम्बुवानजन्य सबै दलहरु निर्वाचन प्रक्रियामा अहिलेसम्म सहभागी भएको छैन । पछिल्लो पटक लिम्बुवान आन्दोलनले उचाई लिएपछि भएको पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन संघीय लिम्बुवान राज्य परिषदले सहभागिता जनाएनन् ।

यद्यपी उसले बहिष्कार भने गरेको थिएन् । उक्त निर्वाचनमा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले राम्रै मत पायो र एक सांसद् समेत निर्वाचित भए । अन्य दल र मोर्चाजस्तै लिम्बुवान पार्टीहरु पनि विभाजित भएका थिए ।

संघीय लिम्बुवान मञ्चका तत्कालीन सहअध्यक्ष खगेन्द्र माखिम समूह संघीय समाजवादी फोरममा विलय भएको छ । फोरम निर्वाचनमा सहभागी हुन तयार भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार