इलाम, । स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत प्रशिक्षण सुरु भएको छ । निर्वाचन हुने ४ वटा नगरपालिकामा र ६ वटा गाउँपालिकामा खटिने ५५० बढी मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको तालिम सुरु भएको हो ।
पहिलो चरणमा आइतबारबाट २५० जनालाई प्रशिक्षण दिइएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिए । उनले भने “मतदान केन्द्रमा गएर मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुले गर्नुपर्ने काम र कर्तव्यको बारेमा तालिम दिइएको हो । मतदान केन्द्रमा हुने सम्र्पुण व्यवहारिक र कानुनी पक्षको बारेमा जानकारी गराइने छ ।”
पहिलो चरणमा इलाम नगरपालिका, देउमाइ नगरपालिका र सुर्योदय नगरपालिकाका कर्मचारीहरुलाई तालिम दिइएको छ । बाँकी रहेका १ नगरपालिका र ६ गाँउपालिकाकाका कर्मचारीहरुलाई दोश्रो चरणमा जेठ ३० र ३१ गते प्रशिक्षण दिइनेछ । जिल्लाका १४४ मतदान स्थलका २४४ मतदान केन्द्रमा ५ सय भन्दा कम मतदाता रहेको क्षेत्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहनेछन । त्यसै गरी ५ सय बढी मतदाता रहेको केन्द्रमा १÷१ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा २÷२ जना सहायक कर्मचारी र कार्यालय सहयोगी रहने जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी खेम राइले जानकारी दिए ।
सहभागीहरुलाई मुख्य निर्वाचन अधिकृत नवराज दाहाल, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, स्थानिय विकास अधिकारी ध्रुवबहादुर खडका लगायत १० वटै स्थानिय तहका निर्वाचन अधिकृतहरुले प्रशिक्षण दिनेछन । तालिमपछि सवै स्थानिय तहमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, गणना कर्मचारी र अन्य सहयोगीहरुको जिम्मेवारी असार ३ गतेसम्ममा वाडफाड हुने प्रमुख निर्वाचन अधिकृत नवराज दाहालले बताए ।
इलामका १० स्थानिय तहमा १ लाख ८९ हजार २७४ मतदाता रहेका छन । ४ नगरपालिका, ६ गाउँपालिका रहेको इलाममा २० जना प्रमुख÷उपप्रमुख एवम ८१ वडा अध्यक्ष सहित ४ सय २५ जन प्रतिनीधि निर्वाचित हुने छन ।
।