Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

निवर्तमान राज्यमन्त्री जबेगुको ‘लिम्बुवान’ पुस्तक

निवर्तमान राज्यमन्त्री जबेगुको ‘लिम्बुवान’ पुस्तक

  • लोकल सन्देश
  • शुक्रबार, जेष्ठ २६ २०७४


निवर्तमान राज्यमन्त्री जबेगुको ‘लिम्बुवान’ पुस्तक

श्रीप्रसाद जबेगु लिखित ‘लिम्बुवान लिम्बू कि लिम्बुवानवासीको ?’ पुस्तक प्रकाशनमा आएको छ ।

लेखक जबेगुको यो आफ्नो भोगाइ तथा संस्मरण पुस्तक हो । जबेगु माओवादी केन्द्रसंबद्ध राजनीतिज्ञ हुन् । पुस्तकमा जबेगुले आफनो जीवनमा भोगेका दु:ख–सुखहरुलाई उतारेका छन् । महत्वपूर्ण पक्षका भनेको उनले तत्कालीन जनयुद्धमा होमिएको बेलामा बिताएको भूमिगत जीवनको क्षणहरुलाई सबिस्तार चर्चा गरेका छन् ।

पुस्तकमा समेटिएका सामग्रीलाई छ खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा ‘घरपरिवार र राजनीति’अन्तर्गत चुङमाङमा घरेलु कामदार हुँदा, मैले कुखुरा चोरें, आहा, ती साथी र भाइबहिनीहरु, पीडादायी भोगाइ धरानदेखि सिक्किमसम्म, आमाको सम्झनामा, आरुको फूल र भुटेको मकै, सपना र नाकाबन्दी शीर्षक संस्मरण रहेका छन् । दोस्रो खण्ड ‘प्रेम र जीवन’अन्तर्गत प्रेम, ठुली र पालाम गाउँदागाउँदै शीर्षक आलेख छन् । तेस्रो खण्ड ‘जनयुद्ध’कालको मार्मिक संस्मरण रहेका छन् । जसमा पार्टी सम्पर्क र भूमिगत जीवन, पहिलो दुर्घटना र संकटकाल, पहिलो युद्धमोर्चा, सुदूरपूर्वका तीन खम्बा, लारुम्बासँग वार्ता, शाही सेनाको घेरा तोड्दा, तङ्नामहरु अर्थात् क्रान्तिका औजारहरु शीर्षक रहेका छन् ।

पुस्तकको चौथा खण्डमा ‘संविधान र महाभूकम्प’अन्तर्गत जनमत संकलनदेखि संविधानसभामा सम्बोधनसम्म, महाभूकम्पमा अनुगमन रहेका छन् । पाँचौं खण्ड ‘जातीय मुक्ति र लिम्बुवान’अन्तर्गत संविधानसभामा ‘महाभारत’, वर्गीय र जातीय मुक्ति समायोजनबार र ‘लिम्बुवान : लिम्बू कि लिम्बुवानवासीको ?’ रहेका छन् । अन्तिम खण्डमा लेखक जबेगुको पारिवारिक, जनयुद्धकालीन संलग्नता, संविधानसभामा सभासद हुँदा मातृभाषामै लिएको शपथको व्यहोरा, भूकम्प २०७२ पछि अनुगमन, स्थानीय विकास राज्यमन्त्री रहँदाका फोटा समेटिएका छन् । लेखक जबेगुले प्रस्तुत ‘लिम्बवान लिम्बू कि लिम्बुवानवासीको ?’ पुस्तकमार्फत् आफ्नो अधिकार खोज्ने नाममा अरुको अधिकार कुठाराघात गर्न नहुने बहस अघि सारेका छन् । पूर्णहाङ साँवा लिम्बू प्रकाशक रहेको पुस्तक भर्खरै बजारमा आएको छ । जम्मा २ सय ३० पृष्ठ रहेको पुस्तकको मूल्य रु.३००/– रहेको छ

 

प्रतिक्रिया
सम्बन्धित समाचार