Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भरतपुरको मतपत्र सुरक्षामा ढाडे बिरालो

भरतपुरको मतपत्र सुरक्षामा ढाडे बिरालो

  • लोकल सन्देश
  • शुक्रबार, जेष्ठ २६ २०७४


भरतपुरको मतपत्र सुरक्षामा ढाडे बिरालो

चितवन : स्थानीय तह निर्वाचनको विषयलाई लिएर भरतपुर महानगरपालिका निकै चर्चामा छ। महानगरको मतपरिणामलाई प्रमुख तीन दलले प्रतिष्ठाकै विषय बनाएर निर्वाचनमा होमिएका थिए। निर्वाचनपूर्व र मतदानपछि पनि भरतपुर राष्ट्रिय राजनीतिको केन्द्रमा नै छ।

सडक र सदन मात्र होइन न्यायालयमा समेत यसको बाछिटा पुगेको छ। मतपरिणामको उत्सुकतासँगै गणनाका क्रममा दलहरूले गर्ने लफडाले पनि भरतपुरले सबैको ध्यान तान्यो। झन् गणनाका क्रममा मतपत्र च्यातिएपछि त यो विषय संसद् र न्यायालयसम्म पुग्यो। अहिले मतपत्रको सुरक्षाको विषयले चर्चा पाएको छ। ठूलो संख्यामा प्रहरी त परिचालन गरिएकै छन्। साथै, दलका प्रतिनिधि पनि गणनास्थल परिसरमा खटिएकै छन्। तर, त्यतिले मात्र मतपत्रको सुरक्षा हुने अवस्था रहेन। मतपत्रको सुरक्षाका लागि बिरालो खटाइएको छ।

कभर्डहलभित्र राखिएको मतपत्रलाई मुसाबाट जोगाउनका लागि दुईवटा ढाडे बिरालो राखिएको छ। महानगरको मतगणना भएको कभर्डहल भवनबाहिर प्रहरीले निरन्तर सुरक्षा दिइरहेका छन्। तर, भवनभित्र रहेका मतपत्रलाई मुसाबाट जोगाउन बिरालाले सहयोग गरिरहेको छ। मतपत्र गणना गर्ने क्रममा प्रयोग भएको कपडा, कागजी मतपत्र र गणना हुन बाँकी मतपत्र रहेको पेटिकालाई कपडाले घेरिएर राखेको छ।

२९ वडाका मतपत्र, लामो समयसम्म लगाएर गणना गर्दा गणक बसेका कपडालगायतका सामग्री हलभित्र छन्। मतपत्र च्यातिएपछि स्थागित भएको गणनास्थल मुचुल्का उठाउन र च्यातिएको संख्या गणना गर्न एक दिन एकैछिनका लागि खोलिए पनि भवन खुला भएको छैन। भवनको मूल गेटमा ताला लगाइएको छ। भवनको गेटमा निर्वाचन कार्यालय र मतगणनाको माग गर्दै आएको नेकपा एमालेले छुट्टाछुट्टै ताला लगाएका छन्। खुला भवनवरपर खुला चौर र वर्षात्को समय झाडी बढेका कारण हलभित्र मुसा पस्न सक्ने सम्भावना छ। मुसाका कारण मतपत्र असुरक्षित महसुस भएका कारण दुईवटा बिरालोलाई हलभित्र जाने आउने वातावरण बनाइएको छ। बिरालाकै कारण मुसाबाट मतपत्र सुरक्षित भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए। बिरालाले मुसा आउन नदिएपछि ढुक्क भएको उनको भनाइ छ। गणनास्थलनजिकै रहेको होटलमा रहेका बिरालालाई मतपत्र भएको हलभित्र जाने वातावरण बनाएको उनले बताए।

दलका प्रतिनिधिहरू पनि रातको समयमा मतपत्र सुरक्षाका लागि कभर्डहलबाहिर बस्ने गरेका छन्। गत १४ जेठको राति भरतपुर–१९ को मतपत्र च्यातिएपछि भरतपुर–१९ र २० को गणना हुन बाँकी मत सुरक्षित राखिएको छ। निर्वाचन आयोगले मतदान गर्ने निर्णय दिएको र सर्वोच्च अदालते २८ जेठसम्म रोक्न अन्तरकालीन आदेश दिएको छ। भरतपुर महानगरमा कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुख पदमा रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली उम्मेदवार छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार