इलाम, । इलाममा जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधी खानेको संख्यामा वृद्धि भएको छ । गत वर्ष पाँचौ चरणमा सञ्चालित हात्तिपाइले रोग विरुद्धको औषधी खाने अभियानमा ८८.१ प्रतिशत औषधी खाने उमेरकाले औषधी सेवन गरेकामा यस वर्ष अभियानको छैठौँ चरणमा उक्त संख्या बढेर ८९.१ पुगेको छ । इलाममा गत चैत ४, ५ र ६ गते ‘राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान’ अन्तर्गत हात्तिपाइले रोग विरुद्धको औषधी वितरण गर्ने अभियान सञ्चालन गरिएको थियो । यसरी हात्तिपाइले रोग विरुद्धको औषधी सेवन गर्नेको संख्या बढ्नुमा मूख्य दुई कारण रहेको कार्यक्रमका फोकल पर्सन बिमल बरालले बताए । उनका अनुसार अघिल्ला वर्षहरुका तुलनामा यस वर्ष हात्तिपाइले रोग विरुद्धको औषधी सेवन गर्दा साइड इफेक्ट हुन्छ भन्ने हल्ला घट्दै गएका कारण औषधी सेवन गर्नेको संख्या बढेको छ । इलाममा विभिन्नखाले दीर्घ रोगको औषधी सेवन गर्दै गरेका, सुत्केरी लगायत विरामी परेका बाहेक २ वर्षदेखि ७० वर्षसम्मका २ लाख ६४ हजार २१२ जनालाई उक्त औषधी सेवन गराउने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्य थियो । जसमध्ये २ लाख ३५ हजार ६५३ जनाले औषधी सेवन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामको तथ्याङ्क छ । औषधी सेवन गर्नेमध्ये २ वर्षदेखि ५ वर्षका बालबालिका १७ हजार २ सय ७४ जना छन् । यस्तै ६ वर्षदेखि १४ वर्षसम्मका औषधी सेवन गर्ने बालबालिकाको संख्या ५४ हजार ५ सय ८ छ भने १५ वर्षदेखि माथीका औषधी सेवन गर्नेहरुको संख्या १ लाख ६३ हजार ८७१ रहेको छ ।