Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

उम्मेदवार छनोटको चटारोमा दलहरू

उम्मेदवार छनोटको चटारोमा दलहरू

  • लोकल सन्देश
  • शनिबार, बैशाख ३० २०७४


उम्मेदवार छनोटको चटारोमा दलहरू

इलाम । स्थानीय तह चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवार छनोटमा व्यस्त देखिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलले उम्मेदवार छनोटको अन्तिम तयारी थालेका छन् ।
उम्मेदवारको नामावाली क्षेत्रीय समितिमा आइसकेको कांग्रेसले जनाएको छ ।  माङसेवुङ गाउँपालिकामा कांग्रेसका उम्मेदवार सर्वसम्मत भएका छन् । अध्यक्षमा डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जुनु माखिमको नाम सिफारिस भएको हो । त्यस्तै रोङ गाउँपालिकाको उपप्रमुख चन्द्रकला राई (बुढाथोकी) सर्वसम्मत उम्मेदवार भएकी छन् । ‘गाउँपालिकाको अध्यक्ष उपाध्यक्षसहित अधिकांश वडाका उम्मेदवारको अन्तिम नामावली केही दिनपछी अाउने छ,’ कांग्रेसका जिल्ला अध्यक्ष हिमालय कर्मचार्यले भने, ‘फरक–फरक क्षेत्रमा परेको इलाम नगरपालिका, माई नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र फाफोकथुम गाउँपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको  जिल्ला कमिटी बैठकले टुंग्याउनेछ । एमालेले दुई नगरपालिकासहित केही गाउँपालिकामा उम्मेदवारको सर्वसम्मत सिफारिस गरेको छ । इलाम नगरपालिकामा पार्टी सचिव महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस भएको छ । उपप्रमुखमा भने एकमत हुन नसक्दा तारा गुरुङ, सुशीला नेम्वाङ र टीका भारद्वाजको नाम प्रदेश कमिटीमा पठाइएको छ । देउमाई नगरपालिका प्रमुखमा सूर्य पोख्रेल र उपप्रमुखमा पविमाया राईको नाम सर्वसम्मत भएको छ । माङसेबुङ गाउँपालिकामा अध्यक्ष हेमन्त राई र उपाध्यक्षमा संगीता योङहाङको उम्मेदवारी निश्चित भएको छ । सन्दकपुर गाउँपालिकामा उपाध्यक्ष शोभा पराजुलीको नाम एकमत भएको छ ।
सर्वसम्मत हुन बाँकी वडाध्यक्ष र सदस्यहरूको  जिल्ला कमिटीले टुंगो लगाउने प्रचारप्रसार समिति संयोजक नवराज शंकरले बताए । नगरपालिका र गाउँपालिका प्रमुखको नामावली प्रदेश कमिटीले  टुंगो लगाउने उनले जानकारी दिए । माओवादी केन्द्रले  अन्तिम नामावली प्रदेश समितिमा पठाउनेछ । वडावाट गाउँपालिका र नगरपालिकामा नाम आउने क्रममा रहेको र त्यहाँबाट जिल्लामा नामावली आएपछि प्रान्तीय कमिटीमा पठाइने कार्यालय सचिव जीवन शर्माले बताए ।

संघीय फोरम नेपाल र संघीय लिम्बुवान पार्टीसहितले संविधान संशोधनको प्रस्ताव पारित नभएसम्म चुनावमा नजाने अडान लिएका छन् । ‘सबै दल सहभागी नगराई हुने चुनावले संघीयताको मर्मअनुसार हुन सक्दैन,’ लिम्बुवान पार्टीका जिल्ला अध्यक्ष डम्बर लोरङदेनले भने । संयुक्त मोर्चामा रहेका यी दलले बुधबार प्रजिअमार्फत ज्ञापनपत्र पठाएका छन् ।
२५ हजार मतदाता थपिए
इलाममा दोश्रो संविधान सभाको चुनावको तुलनामा २५ हजार ७ सय २३ मतदाता संख्यामा वृद्धि भएको छ । हाल इलाममा कुल मतदाता संख्या एक लाख ८९ हजार २ सय ४४ रहेकोछ ।
दोश्रो संविधान सभाको चुनावमा इलाममा मतदाता संख्या एक लाख ६३ हजार ५ सय ५१ रहेको थियो । इलाममा ८१ वटा वडा रहेको जिल्लामा कुल मतदाता संख्या मध्ये हाल पुरुष ९६ हजार ६ सय ७१ र महिला ९२ हजार ६ सय एक जनासाथै तेस्रो लिङ्गी दुुईजना रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जानकारी दिएको छ ।
स्थानीय तह पुनसंरचना पछि जिल्लाकै धेरै जनङ्ख्या भएको सुर्योदय नगरपालिकामा हाल ३९ हजार ४ सय ६७ मतदाता रहेका छन् । यस्तै सदरमुकाम रहेको इलाम नगरपालिकामा ३० हजार छ सय १८ मतदाता रहेका छन् । यता देउमाई नगपालिकामा २१ हजार ६ सय २३ र स्थानीय तह पुर्न संरचना पछि बनेको माई नगरपालिकामा १९ हजार ४ सय ७३ मदतादाता रहेका छन् ।
जिल्लाको चुलाचुली गाँउपालिकामा १४ हजार ७४ मतदाता रहेका छन् । यस्तै फाकफोकथुम गाँउपालिकामा १३ हजार सातसय ३३, माई जोगमाई गाँउपालिकामा १४ हजार आठ सय पाँच मदतादाता रहेका छन् । काफ्लेका अनुसार माङ्गसेवुङ्ग गाँउपालिकामा १० हजार नौ सय ६४, रोङ्ग गाँउपालिकामा १२ हजार आठ सय ८८ र सन्दकपुर गाँउपालिकामा ११ हजार छ सय २९ मतदाता रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार