सरिता चेम्जाेङ
पाँचथर । सदरमुकाम फिदिमस्थित पल्लोटारमा १७ वर्षअघि निर्मित बसपार्क प्रयोगविहीन अवस्थामा छ । मेची राजमार्गमा पर्ने फिदिम नगरपालिका–२ पल्लोटारमा निर्मित बसपार्क पटक पटक उद्घाटन भए पनि प्रयोग नभएपछि बसपार्क निर्माणमा खर्च भएको करोडौं रुपैंयाँ सरकारी लगानी खेर गएको छ ।
बसपार्क निर्माणको लागि नगर विकास समितिलाई स्थानीयवासीले करिब ९ रोपनी जग्गा निस्शुल्क दिएपछि जिविस, फिदिम नगरपालिका र नयाँ सहर आयोजनाले करोडौं रुपैंयाँ लगानीमा भौतिक पूर्वाधार निर्माण गरिएको छ । बसपार्क प्रयोग नभएपछि जग्गादाता र स्थानीयवासी आक्रोसित छन् । पल्लोटारमा बसपार्क बन्ने भएपछि आसपासको क्षेत्रमा ठूलठूला भवन, बजार, बस्ती विस्तार भएको छ । मेचीराजमार्गदेखि बसपार्क प्रवेशमार्ग सडक कालोपत्रे गरिएको छ ।
बसपार्क प्रवेश गर्ने बाहिरिने फराकिलो सडक, बस पार्किङस्थल र सार्वजानिक शौचालय समेत निर्माण भइसकेको छ । तर पनि बसपार्क प्रयोगमा नआएपछि चकित भएको स्थानीय टंकप्रसाद अधिकारीले बताए । उनले बसपार्क निर्माणको लागि आफू लगायत ८ जना स्थानीयवासीले जग्गा निस्शुल्क दिएको बताए । उनका अनुसार बसपार्क निर्माणको लागि नरवबहादुर लावती, काजीमान लावती, तुलसी बास्कोटा, खगेन्द्र अर्याल, ज्ञानबहादुर दाहा, कमला अर्याल, शोभा खनालले स्थानीय मूल्यअनुसार एक करोड ९ लाख रुपैंयाँ बराबरको जग्गा नगर विकास समितिलाई रजिष्ट्रेसन पास गरिदिएका थिए ।
बसपार्क निर्माण भएपछि सरकारी निकायले १७ वर्षमा दुई पटक उद्घाटन समेत गरिसकेका छन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पहिलोपटक २०५५ साल बैशाख १ गते बसपार्क उद्घाटन गरेका थिए । त्यसपछि २०७० सालमा दोस्रोपटक बसपार्क उद्घाटन भए पनि सञ्चालनमा नआएको स्थानीय टंक अधिकारीले बताए । प्रयोग नभए पनि स्थानीवासीको सक्रियतामा नयाँ शहर आयोजनाले आधुनिक बसपार्क निर्माणको लागि पूर्वाधार विकासको लागि गत आर्थिक वर्ष ६७ लाख रुपैंयाँ लगानीमा टेवा पर्खाल, काउन्टर भवन, प्रहरी विट, प्रतिक्षालय, कल्भर्ट निर्माण गरिएको छ ।
बसपार्कमा एक सय वटा बस, ट्रयाक्सी पार्किङ क्षमता भएकोले यथाशीघ्र सञ्चालन गर्नुपर्ने स्थानीयवासीको माग सरकारी निकायले बेवास्ता गरेको अर्का स्थानीयवासी कमलराज नेम्वाङले बताए । उनले हरेक आर्थिक वर्ष बसपार्क निर्माणको लागि रकम विनियोजन गरी पूर्वाधार निर्माण कार्य निरन्तर भइरहेको बताए । ‘प्रयोग नै नहुने भए बसपार्कमा किन लगानी गर्ने ?’ प्रश्न गर्दै नेम्वाङले भने– ‘बसपार्क प्रयोगमा आउनुर्पयो कि लगानी बन्द गरी अन्यत्र विकास गर्नुर्पयो ।’ आफ्नै बसपार्कमा सवारी पार्किङ नगरी यतिबेला फिदिम उच्च माविको जग्गा भाडामा लिएर अस्थायी रुपमा बसपार्क सञ्चालनमा रहेको छ ।
नवनिर्मित बसपार्क मेची राजमार्गदेखि ५० देखि एक सय मिटरभित्र परेकोले बस व्यावसायीहरु सवारी लैजान नमानेकाले प्रयोगविहीन भएको नगर विकास समिति पाँचथरका अध्यक्ष ओनहाङ नेम्वाङले बताए । स्थानीयले उपलब्ध गराएको जग्गा कम भएकोले बसपार्क विस्तारको लागि थप जग्गा खरिद गर्न महङ्गो मूल्य तिर्नुपर्ने भएकोले समस्या भएको अध्यक्ष नेम्वाङले बताए । बसपार्क बनेपछि आसपासको क्षेत्रमा बस्ती विस्तार भएर व्यापार व्यवसाय वृद्धि हुने आशामा रहेका स्थानीयवासी निराश छन् ।
पाँचथर सदरमुकाम फिदिममा ३६ वर्षअघि यातायात सेवा सुरु भए पनि बसपार्क व्यवस्थापन नभएकोले स्थानीयवासीले निस्शुल्क जग्गा दिएर निर्माण गरिएको बसपार्क प्रयोग नहुँदा चकित हुनु परेको गुनासो गरेका छन् । झापादेखि ताप्लेजुङसम्म मेची राजमार्गमा दैनिक तीन सय साना ठूला सवारी आवागमन हुने गरेका छन् ।