इलाम । युरोपका बजारमा चीज र छुर्पिको माग बढेपछि पूर्वी नेपालको पहाडी जिल्लामा दूग्ध प्रशोधन उद्योग खुल्ने क्रम बढेको छ । गाईको दूधबाट बनाइने चीज र छुर्पी उद्योग गाउँ गाउँमा स्थापना भएपनि ग्रामीण क्षेत्रका युवाले रोजगार पनि पाउन थालेका छन् ।
०६६ सालमा १० लिटर दूधबाट चीज उत्पादन शुरु गरेका पशुपतिनगर इलामका तुलु तमाङ्गले अहिले १४ सय लिटर प्रशोधन गर्छन् । रसुवाबाट इलाम आएर लक्कि डेरी स्थापना गरेका तामाङ्गको उद्योगमा चिजको उत्पादन भन्दा माग उच्च छ । गाउँका ५ जना युवालाई रोजगारी दिन सफल तामाङ्ग राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट हालै पुरस्कृत हुन् ।
पशुपतिनगर कै महेन्द्र पाण्डेले पनि दैनिक एक हजार लिटर दूध प्रशोधनबाट चीज उत्पादन गरेपनि बजारको माग धान्न सकेको छैनन् । तेस्रो मुलुकका पर्यटकले औधि रुचाउने गाईको दूधबाट उत्पादित चिजको बजार काठमाडौँ र पोखरा रहेको चीज उद्योगी तुुलु तमाङ्गले बताए ।
गाईको दूधबाट बनाइने छुर्पीको माग पनि डेरी उद्योगीले धान्न सकेका छैनन् । कुकुरको आहारका लागि युरोप निर्यात हुने छुर्पीको माग बढेसँगै मूल्य पनि दोब्बर छ । दूधलाई प्रशोधन गरि बनाइने चीज र छुर्पिको माग बढेपछि गाउँगाउँमा उद्योग स्थापना बढ्दो छ । माग सँगै उद्योग खुल्ने क्रम बढेपछि गाउँमै रोजगारी पाउने युवाको संख्या बढेको घरेलु तथा साना उद्योग विकास समिति इलामका प्रमुख उद्योग अधिकृत नविन कुमार पौडेलले बताए ।
५ वर्ष अघिसम्म ं७ वटा रहेका चिज उद्योगको संख्या अहिले २६ पुगको छ भने छुर्पी उद्योग ५ सय बढी संचानमा छन् । २ जनादेखि ७ जनासम्म युवाले रोजगारी पाएको चिज र छुर्पी उद्योग दैनिक ४० हजार लिटर दूध प्रशोधन हुँदै अएको छ ।