इलाम । पूर्वी नेपालका शिक्षा, मालपोत र जिल्ला समन्वय समितिका कर्मचारीले सेवा लिन आउने सेवाग्राहीबाट घुस लिने गरेको एक तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले इलाममा आयोजना गरेको अन्तरक्रियामा उक्त तथ्याङ्क सार्वजनीक गरिएको हो ।
कुल १६ वटा मन्त्रालयका दर्ता भएका ३ हजार ८ सय ९५ उजुरीमध्ये ३ हजार ४ सय ४१ वटा फछर्यौट भएको आयोगले जनाएको छ । इटहरीमा आयोग स्थापना भएदेखी आर्थिक बर्ष २०७२÷७३ सम्म शिक्षाका १ हजार २ सय ३५ वटा उजुरीमध्ये १ हजार ६८ वटा फछ्यौट भएको छ । त्यसै गरी स्थानिय विकास मन्त्रालय मातहतको कार्यालयका ९ सय १७ मध्ये ७ सय ९६ उजुरी फछयौट भएको कार्यालयका प्रमुख प्रेम प्रसाद भट्टराईले बताउनुभयो ।
शिक्षा क्षेत्रमा भौतिक निर्माण तथा मर्मत अनुदान, छात्रवृति पाठ्य पुस्तक खरिद तथा विद्यालय स्विकृत जस्ता बिषयमा अनियमितता हुने गरेको आयोगले जनाएको छ । त्यसै गरी जिल्ला समन्वय समितीमा नक्कली बिल विजक बनाएर रकम फछयौट गर्ने र सामाजिक सुरक्षा भत्ताको दुरुपयोग हुने गरेको छ । मालपोत कार्यालयमा घरजग्गा रजिष्ट्रेसन पास, जंगल खोला बुट्यान पोखरी लेखिएको जग्गा व्यक्तिका नाममा पास गरी व्यापक रकम अनियमिता हुने गरेको आयोगले जनाएको छ ।
आयोगको इटहरी कार्यालय स्थापना भएपछि इलामबाट भ्रष्टचारका ६९ वटा उजुरी परेकोमा ५३ वटा फछयौट् भएको छ ।