Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कालोपत्रेसँगै सुधारिदैँ पूर्वी पहाड

कालोपत्रेसँगै सुधारिदैँ पूर्वी पहाड

  • सुजन तिमसिना
  • शुक्रबार, बैशाख २९ २०७४


कालोपत्रेसँगै सुधारिदैँ पूर्वी पहाड

इलाम । ८ वर्ष अघिसम्म मेची राजमार्गमा गुड्ने गाडिहरुमा यात्रा गर्ने यात्रु असारे रोपाइ गरेर फर्के जस्तै देखिन्थे । यात्रा गर्नुको सट्टा भासिएको गाडिलाई कसरि पार लगाउने भन्ने चिन्ता चालकको भन्दा बढी हुन्थ्यो यात्रुमा । चालकले आफ्नो ज्यानको बाजि राखेर यात्रु मात्रै हैन गाडि पार लगाउन डोरी, बेल्चा, कोदालो, खन्ति भुस जस्ता सामाग्री बोक्नु अनिवार्य जस्तै थियो । गाडि भासिएपछि यात्रु र चालक मिलेर गाडि ठेल्ने, तान्ने र चिप्लिएको ठाउँमा भुस लगाएर सडक पार गराउँथे । कच्चि सडकका कारण कतिपय सवारीसाधन त बिग्रिएर बाटैमा थन्किन्थे ।
बिग्रिएर थन्किएका सवारीसाधन कहिले बन्ने हो ठेगान थिएन । झापाको विर्तामोडदेखि यात्रा गरेका यात्रु तीन दिनमा मात्र ताप्लेजुङ्ग सदरमुकाम पुग्थे । उसबेला काहिलिलाग्दो यात्रा गरेका यात्रुका लागि मेचीरार्जमा अहिले यात्रा गर्दाको आनन्द अर्कै छ । झापाको चारआलिदेखि ताप्लेजुङ्ग सदरमुकामसम्म कालोपत्रे भएपछि यात्रु मात्रै नभएर गाडि चालकलाई झनै आनन्द भएको छ । चार दिन लगाएर ताप्लेजुङ्ग सदरमुकाम यात्रु लिएर पुग्ने चालकहरु अहिले एक दिनमा ओहोर दोहोर गर्दै आएको बताउँछन् ।
गाडिमा यात्रा गर्ने यात्रु र गुडाउने चालकलाई मात्रै हैन मेचीराजमार्ग कालोपत्रेसँगै विकट भनेर परिचित मेची अञ्चलका पाँचथर र ताप्लेजुङ्ग जिल्लामा विकासले फड्को मारेको छ । मुख्य राजमार्ग कालोपत्रे भएपछि दुर दराजसम्म पुग्ने सडक निर्माणमा स्थानीयबासी आफै जुटेका छन् । यातायातको सुविधा सहज भएपछि कृषि व्यवसाय फस्टाउँदो छ । स्थानीय बजारमा बिक्रि नभएर बारिमै खेर जाने मुला, आलु, दूग्ध परिकार मात्रै हैन बजार नपुग्ने गुन्द्रुक जस्ता कृषि उपज खरिदका लागि किसान सडक निस्किए पुग्छ । स्थानीय बजारलाई केन्द्रबिन्दुमा राखेर कृषि उपज उत्पादन गर्ने किसानको आर्थिक वृद्धि मात्रै नभएर राजमार्गको कालोपत्रेसँगै स्थानीय बजारदेखि ठुला बजारसम्म पहुज पुुगेको पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष मित्र काफ्लेले बताए ।
राजमार्ग कालोपत्रे भएपछि ग्रामीण क्षेत्रमा बजार बिस्तार भएको उनको भनाइ छ । ‘ ग्रामीण क्षेत्रमा बजार विस्तार सँगै स्थानीयबासीको पहुज नेपाल तथा भारतका बजारसम्म पुगको देखिन्छ । अध्यक्ष काफ्ले भन्छन्–‘गाउँपिच्छेको बजार विस्तार हुने क्रम बढेपछि समदरमुकामको व्यापार भने खस्केको देखिन्छ ।’ राजमार्ग कालोपत्रे भएपछि चिया, दुग्धजन्य, इटा र कृषि उपज सम्बन्धि उद्योग स्थापना भएका छन् । राजमार्ग छेउमै किसानले सानो लगानीमा उद्योग स्थापना गरि स्थानीय बजारसम्म पु¥याएर बिक्रि गर्दै आएका छन् । कालोपत्रे पछि जग्गाको मूल्य पनि बढेको छ । राजमार्ग आसपासको जग्गाको भाउ एक सय प्रतिसतसम्म बढेको पाँचथर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुबराज थापाले बताए ।
उत्पादन भएको कृषि उपज प्रतिपर्धात्मक बजारसम्म पु¥याउन सहज भएपछि कतिपय किसान आफैले उद्योग संचालन गर्दै आएका छन् । राजमार्ग कालोपत्रेसँगै त्यस आसपास क्षेत्रमा बजार बिस्तारले गति लिएको छ । जिल्ला सदरमुकाममा मात्रै नभएर ग्रामीण क्षेत्रमा समेत विकासको गति लिएको हो । बजार मूल्य कम भएपनि ढुवानी खर्च बढी बुझाएर आवश्यक सामग्री खरिद गर्दै आएका सर्वसाधारणका लागि बढ्दो बजार मूल्यमा सडक कालोपत्रे सँगै ढुवानी खर्च कम भएकोमा राहात मिलेको ताप्लेजुङ्ग उद्योग बाणिज्य संघका तारा प्रसाद घिमिरेले बताए । ‘बजारमुल्य कम भएको समयमा ढुवानी शुल्क बढी बुझाउनुपथ्र्यो । उनी भन्छन्–‘अहिलेको बजार मुल्य बढी भएपनि ढुवानी भाडा चै कम भएको छ ।’
झापाको केचनादेखि चीनको तिब्बत सिमाना रहेको ताप्लेजुङ्गको घारिला जोड्ने राजमार्गको सडक मध्ये ताप्लेजुङ्गको सुकेटारसम्म कालोपत्रे भइसकेको छ । २०५० सालदेखि कालोपत्रे शुरु भएको मेची राजमार्गको फिदिम ताप्लेजुङ्ग सडक खण्डका सबै प्याकेजमा कालोपत्रेको काम सम्पन्न भइ हस्तान्तरण भएकोसडक डिभिजन कार्यालय इलामका प्रमुख सिवलाल दाहालले बताए । कच्चि सडक हुदा न्यून संख्यामा गुड्ने गरेपनि अहिले सयौँको संख्यामा गाडि ओहोरदोहोर हुदै आएको सडक डिभिजनले जनाएको छ । सडक डिभिजन कार्यालय इलामको तथ्याङ्क अनुसार मेची राजमार्गमा अहिले दैनिक आठ सय बढी सवारीसाधन ओहोरदोहोर हुने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार