इलाम । भीषण बाढीका कारण गत भदौ १० गतेदेखि सम्पर्कविहीन रहेका देउमाई नगरपालिका–९ की खीनमाया न्यौपाने र बुद्धिसागर न्यौपानेको परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको छ। बाढीपछि सरकारी तथा निजी क्षेत्रबाट विभिन्न माध्यमबाट खोजी तथा उद्धारको प्रयास गरिए पनि हालसम्म दम्पतीको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ।
लामो समयसम्म खोजी गर्दा समेत कुनै खबर प्राप्त नभएपछि परिवारले सन्तानले गर्नुपर्ने परम कर्तव्य पूरा गर्ने निर्णयमा पुगेको जनाएको हो। परिवारका अनुसार दक्षिण सुडानस्थित युएन मिसनमा कार्यरत दाजु काठमाडौं आइपुगेपछि असोज १५ गते बिहान ११ बजे पशुपतिस्थित आर्यघाटमा शवनिर्माण गरी विधिवत् अन्त्येष्टि कर्म गरिनेछ।
अन्त्येष्टि कर्ममा आफन्त, नातागोता, कुलकुटुम्ब, शुभचिन्तक तथा छरछिमेकीलाई उपस्थित भई श्रद्धाञ्जली अर्पण गरिदिन परिवारले अनुरोध गरेको छ। त्यसैगरी परिवारका बडिबाआमा, दाजुभाइ तथा दिदीबहिनीको निर्णयअनुसार १३ दिनसम्मको काजकिरिया काठमाडौंको धापासी हाइट, टोखा नगरपालिका–६, धापासीस्थित कृष्ण मन्दिर वा डाँफे कोलोनी नजिकै रहेको क्रियापुत्री भवनमा गरिने छोरा राजेश न्यौपानले जानकारी दिए ।