काँकरभिट्टा । ४७औँ विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकरभिट्टामा पर्यटन क्षेत्रमा योगदान पुर्याउने इलामका ५ सहित १६ व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा अतिथि होमस्टे सूर्योदय नगरपालिका, पोर्टर ड्राइभर क्लबका गाइड प्रशान्त गिरी, होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेल, पर्यटन प्रवद्र्धन सरोकार समिति इलामका अध्यक्ष प्रेम सापकोटा र अन्तुडाँडा सामुदायिक होमस्टे रहेका छन् ।
त्यस्तै, पर्यटनमा योगदान पुर्याउने प्रेस क्लब मेचीनगर, पर्यटन पत्रकार मञ्च झापा, पूर्वप्रदेश सांसद तथा यातायात व्यवसायी श्रीप्रसाद मैनाली, लाउख्रीफारा सामुदायिक होमस्टे मेचीनगर, भारतका सञ्चारकर्मी प्रशान्त आचार्य, गुम्बाडाँडा सामुदायिक होमस्टे फुङ्लिङ ताप्लेजुङ, फालेलुङ सामुदायिक होमस्टे पाँचथर, लाइफ लाइन ट्राभल्स एन्ड टुर मेचीनगर, सिलिगुडी जर्नालिस्ट क्लब, मेचीनगर–९ का दावा छितेन शेर्पा र सुमेरु टुर एन्ड ट्राभल्स अर्जुनधारा झापालाई पनि सम्मान गरिएको छ ।
पर्यटन कार्यालय काँकरभिट्टाको आयोजना र अध्यागमन कार्यालय काँकरभिट्टाको समन्वयमा मा भएको कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा संघसंस्थाबीच अन्तरक्रिया गर्दै नेपाल भएर जाने तथा नेपाल आउने पर्यटकलाई स्वागत गरिएको थियो । यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘पर्यटनको पुनर्संरचनाका लागि डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता’ रहेको छ । दिवसका अवसरमा नेपाल प्रवेश गर्ने पहिलो पर्यटक अमेरिकी नागरिक जुडी अब्रामोभलाई खादा तथा अबिर लगाएर स्वागत गरिएको थियो । त्यसैगरी अन्य पर्यटकहरुलाई समेत खादा, माला र ढाकाटोपी लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख छविलाल खतिवडाको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपाने विशेष अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले नेपाल प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण मुलुक भएकाले पर्यटन गतिविधिसँग जोडेर उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए ।
पर्यटकलाई आकर्षित गर्दै उनीहरूलाई सुखद भ्रमणको अनुभूति हुने वातावरण सिर्जना गर्नु सबैको कर्तव्य भएको उनको भनाइ थियो । उनले वर्षमा एक पटक विश्व पर्यटन दिवस मनाउँदैमा मात्रै पर्यटनको विकास र प्रवद्र्धन सम्भव नहुने बताए । तुलनात्मक रूपमा लाभ दिन सक्ने नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन निरन्तर पहल आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा पर्यटन मञ्च झापाका अध्यक्ष उदयकुमार श्रेष्ठ, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका वडा अध्यक्ष तथा हात्ती संरक्षणकर्मी अर्जुन कार्कीलगायतले पर्यटन विकास, प्रवद्र्धन र सीमावर्ती क्षेत्रबाट हुने पर्यटकीय आवागमनका विषयमा मन्तव्य राखेका थिए ।