Local Sandesh बुधबार, भाद्र १० २०८३
  • ट्रेण्डिङ :

महिलालाई मन्त्री बनाएपछि पूर्वमन्त्री राम रानाको टिप्पणी– ‘अब पोथीले फुल पार्ला र बच्चा जन्माउला’

महिलालाई मन्त्री बनाएपछि पूर्वमन्त्री राम रानाको टिप्पणी– ‘अब पोथीले फुल पार्ला र बच्चा जन्माउला’

  • लोकल सन्देश
  • शुक्रबार, भाद्र ५ २०८३


महिलालाई मन्त्री बनाएपछि पूर्वमन्त्री राम रानाको टिप्पणी– ‘अब पोथीले फुल पार्ला र बच्चा जन्माउला’
  • कोशी सरकार विस्तारमा तीन महिला मन्त्री बनेपछि एमाले सांसद रामबहादुर मगरले व्यङ्ग्य गर्दै ‘अब पोथीले फुल पार्ला र बच्चा जन्माउला’ भनेका छन् ।
  • महिला सांसदहरूले भने मन्त्रीमण्डलमा महिला सहभागितालाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्दै यसले महिला नेतृत्व क्षमता प्रमाणित गर्ने बताएका छन् ।
  • यसैगरी, सांसद निरन राईले प्रदेशको आर्थिक समृद्धिका लागि गाँजा खेतीलाई वैधानिक बनाउनुपर्ने र सांसद गयानन्द मण्डलले किसानलाई सिँचाइमा निःशुल्क विद्युत् उपलब्ध गराउन माग गरेका छन् ।

विराटनगर । कोशी सरकार विस्तारको क्रममा नेपाली कम्युनिस्ट पार्टीले तीन जना महिलालाई मन्त्री बनाएको विषयमा महिला सांसदहरूले खुसी र हर्ष बढाइँ गरिरहेको बेला एमालेका एक सांसदले भने व्यङ्ग्य गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा गठित नयाँ मन्त्रीमण्डलमा गीता तिम्सिना सामाजिक विकास मन्त्री र खिनु लङ्वा लिम्बू पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । त्यस्तै सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाइएको छ ।

मन्त्रिपरिषदमा तीन जना महिला समेटेको विषयलाई अधिकांश सांसदले ऐतिहासिक र गर्वको विषय बताएका छन्, तर एमालेका सांसद तथा पूर्वमन्त्री रामबहादुर मगरले भने व्यङ्ग्य गर्दै ‘अब पोथीले फूल पार्ने र बच्चा जन्माउने’ बताएका छन् । प्रदेश सभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोलेका उनले मन्त्रीमण्डलमा महिला सहभागिताको चर्चा गरे । ‘अहिलेको मन्त्रीमण्डलमा तीन जना महिला मन्त्री हुनुहुन्छ । यसलाई लिएर धेरै खुसी व्यक्त गरियो । अब आशा गरौँ, पोथीले फुल पार्ला, बच्चा जन्माउला र हुर्काउला,’ मगरले भने ।

उता, मगरको टिप्पणीभन्दा ठिक विपरीत, शून्य समयमा बोल्ने महिला सांसदहरूले भने मन्त्रीमण्डलमा महिलाको बलियो उपस्थितिलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन् । सांसद खगेश्वरी पौडेलले भनिन्, ‘कार्यकालको अन्तिममा भए पनि हामीले तीन जना महिला मन्त्री पाएका छौँ । अझ समानुपातिकबाट आएका माननीयले ठुलो मन्त्रालयको जिम्मेवारी पाउनु हाम्रो सान हो । महिलाले क्याबिनेट चलाउन सक्छन् भन्ने यो एउटा बलियो प्रमाण हो ।’

त्यस्तै, सांसद तारादेवी ढकालले नेकपाले व्यवहारमै महिलालाई सम्मान गरेको भन्दै धन्यवाद दिइन् । ‘भाषणमा मात्र होइन, व्यवहारमै महिलालाई नेतृत्वमा ल्याएर नेकपाले आफूलाई महिलामैत्री पार्टी प्रमाणित गरेको छ,’ उनले भनिन् । सांसद कमला थापा मगरले पनि नयाँ मन्त्रीहरूलाई चुनौतीसहितको अवसर प्राप्त भएको बताउँदै सफल कार्यकालको शुभकामना दिइन् ।

बैठकमा सांसद निरन राईले प्रदेशको आर्थिक समृद्धिका लागि गाँजा खेतीलाई वैधानिक बनाउनुपर्ने माग गरे । उनले भने, ‘कस्तुरीले आफ्नो बास्नाको खोजीमा टाढा–टाढा दौडिन्छ, तर आफैँभित्रको सुगन्ध थाहा पाउँदैन । कोशी प्रदेशलाई समृद्ध बनाउन यहाँको माटो र हावापानी सुहाउँदो गाँजा खेतीलाई कानुन बनाएर खुला गरिनुपर्छ ।’

राईले २०३३ सालभन्दा अगाडि नेपालमा गाँजा खेती वैधानिक रहेको र त्यसबाट ठुलो राजस्व सङ्कलन हुने गरेको तथ्य स्मरण गराए । सांसद गयानन्द मण्डलले देशमा जलविद्युतको प्रचुर सम्भावना भए पनि किसानहरूले सिँचाइका लागि विद्युत नपाएकोमा आक्रोश व्यक्त गरे । उनले भने, ‘नेपाल जलस्रोतमा विश्वको दोस्रो धनी देश भनिन्छ, तर यहाँ बत्ती मुनिको अँध्यारो छ । हामी भारत र बंगलादेशलाई बिजुली बेच्ने कुरा गर्छौं, तर आफ्नै किसानले बोरिङ चलाउन बिजुली पाउँदैनन् ।’

उनले किसानलाई सिँचाइमा ५ वर्षसम्म निःशुल्क विद्युत् उपलब्ध गराउन र हरेक गाउँपालिकामा विद्युत् विस्तार गर्न माग गरे । त्यसैगरी, सांसद सुनिता गच्छदारले बाराको सिमरामा ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कार र हत्याको जघन्य अपराधको विषयमा आक्रोश व्यक्त गरिन् । ‘आखिर कहिलेसम्म छोरी मान्छे भएकै कारणले बलात्कृत भएर मर्नुपर्ने रु यो अमानवीय अपराध सभ्य समाजका लागि स्वीकार्य छैन,’ उनले भनिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार